२०८१ कार्तिक ८, बिहिवार , १०:३६:५२ बजे

Sajhamanch
'

झापाको केर्खामा सवारी दुर्घटना, हजुरबा नातिनीको घटनास्थलमा मृत्यु

बुधवार, कार्तिक ७, २०८१

कमल । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका वडा नं ३ मा पर्ने केर्खा बजार खण्डमा अहिले साँझ भएको सवारी दुर्घटनामा दुईजनाको घटना स्थलमा नै मृत्यु भएको छ ।

काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको रात्री बसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ । उनीहरूको शव सडकमा नै राखिएको छ ।

उक्त घटना पछि केर्खा बजारको स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । करिब एक हजार जनाभन्दा बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी पनि गरेका छन् ।

सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्याससमेत प्रहार गरेका छन् ।

दुर्घटनामा मृत्यु भएकी बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए । बर्थडे केक र मासु लिएर फर्कँदै गर्दा रात्री बसले उनीहरूलाई ठक्कर दिएको थियो । बर्थडे केक र मासु सडकभरि छरपस्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।

सम्बन्धित खबर