झापा । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले आईसीसी च्याम्पियन्स ट्रफीका लागि भारत पाकिस्तानमा आउनेमा आफू विश्वस्त रहेका बताएका छन् ।
दुई देशबीच चलिरहेको राजनीतिक मतभेदका कारण भारतीय क्रिकेट टिम सन् २००८ पछि पाकिस्तान गएको छैन । तर पीसीबीका अध्यक्ष नकवीले भारत पाकिस्तानमा आउने र च्याम्पियन्स ट्रफी निर्धारित समयअनुसार हुने आशा व्यक्त गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेवसाइट क्रिकइन्फोले जनाएको छ । उनले आईसीसी प्रतियोगितालाई ध्यानमा राखेर रङ्गशाला निकै आकर्षक बनाइएको पनि बताएका छन् ।
यद्यपि यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा जाने वा नजाने भन्ने कुरासरकारले निर्णय लिने बताएका थिए ।
च्याम्पियन्स ट्रफी आउँदो वर्षको फेब्रुअरी १९ तारिखदेखि पाकिस्तानमा आयोजना गर्न प्रस्ताव भएको छ । च्याम्पियन्स ट्रफी पाकिस्तानको तीन वटा शहर– लाहोर, कराची र रावलपिन्डीमा खेलाइनेछ ।