काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको छ ।
‘मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णय गरिएको छ,’ मन्त्री गुरुङले भने । निजी क्षेत्रले लामो समयदेखि एक उच्चस्तरीय आयोग गठनको माग गरेका थिए ।
आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् ।
आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षसँग परामर्श गर्नेछ । अर्थ मन्त्रालयको एक सय दिनको योजनामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने उल्लेख थियो ।