झापा । उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्की सवारी ज्यान मुद्दामा पक्राउ परेका छन् ।
गत साउन ३२ गते शुक्रबार दिउँसो करिब ४ बजेतिर मोरङको कानेपोखरी गाउँपालिका ७ मा कार्कीले चलाएको प्र.१-०१-०१६ प ८२३५ नम्बरको मोटरसाइकलबाट लडेर उर्लाबारी ४ की ४२ वर्षीया शर्मिला बोहोरा घाइते भएकी थिइन् ।
घाइते बोहोरालाई स्थानीय प्रहरी र कार्कीको सहयोगमा उपचारका लागि मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ बोहोरोको उपचार सम्भव नभएपछि थप उपचारका लागि सोही दिन साँझ ७ः४० बजे विराटनगरस्थित विराट शिक्षण अस्पताल रिफर गरिएको थियो ।
बोहोराको हिजो विहान ४ः१५ बजे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । बोहोराको उपचारका क्रममा मृत्यु भएपछि उनको परिवारले हिजो इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका छन् ।
जाहेरीपश्चात् प्रहरीले ५० वर्षीय कार्कीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दा चलाउने तयारी गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।
मृतकका आफन्त सुनिल बोहोराले कार्कीले घटना घटेको ३ दिनसम्म पनि अभिभावकलाई जानकारी नगराई अस्पताल लगेर लापरबाही तरिकाले उपचार गराउँदा मृत्यु भएको आरोप लगाएका छन् ।