काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन् । शुक्रवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरे। नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताए। उनले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे।
उनले अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न पनि आह्वान गरे। उनले बिरोधको नाममा बिरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने बताए।
उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गरे। उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरु प्रतिवद्ध रहेको बताए। उनले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गरे।