काठमाडौं । गएको आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ ।
यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरूले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
कृषि विकास बैंकले गएको आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै नबिल बैंकले ७ अर्ब ६ करोड, ग्लोबल आईएमई बैंकले ६ अर्ब र मेगा बैंकले ५ अर्ब १९ लाख रुपैयाँ नाफा कमाएका छन् ।
सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ । प्रभु बैंकले ४ अर्ब ४८ करोड नाफा कमाएको छ । यस्तै हिमालयन, लक्ष्मी सनराइज, प्राइम, कुमारी, एभरेस्ट र नेपाल एसबीआई बैंकले पनि नाफा बढाएका छन् ।
सानिमा, एनएमबी, एनआईसी एशिया, नेपाल बैंक, स्टान्डर्ड चार्टड, सिटिजन्स, ग्लोबल, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकको नाफामा भने गिरावट आएको छ । यसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा ६८ दशमलव ०१ प्रतिशत, सिटिजन्स बैंकको २८ प्रतिशत र नेपाल बैंकको खुद नाफा ५१ दशमलव ८० प्रतिशतले घटेको छ ।