२०८१ मंसिर १०, सोमवार , १२:४७:४३ बजे

Sajhamanch
'

इलामको सन्दकपुरमा किबी फलाउँदै राजनीतिक एवम् व्यवसायिक सात युवाहरु

सोमवार, साउन २१, २०८१

इलाम । जिल्लाको पूर्वीउत्तर भूगोल सन्दकपुरमा राजनीतिक एवम् व्यवसायी युवाहरुको समूहले एक दशक अघिबाट सुरु गरेको व्यवसायिक कृषिकर्मले नतिजा दिन थालेको छ । राजनीतिकर्मीहरु पनि व्यवसायमा जोडिए भ्रष्टाचार कम हुने मान्यता राखेर सात जना युवाको समूह किवी र लोठसल्लाको खेतीमा लागेका हुन् ।

अब नेपालको भविष्य कृषि क्षेत्रमा छ भन्ने बुझेर नै ती सात जना युवाले समूह बनाएर सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेका हुन् । उनीहरुले इलामको सन्दकपुर गाउँपालिका–२ मा ३०० रोपनी जग्गामा किवी र लोठसल्ला (टेक्सस मेरिई)को खेती गरिरहेका हुन् । ‘तीन सय रोपनीमध्ये १५० रोपनीमा किवी फालाइँदैछ भने १५० रोपनीमा लोठसल्ला लगाइएको छ’ कम्पनीका अध्यक्ष सिपी कडरिया बताउँछन् ।

आइतबार दिउँसो केही पत्रकारहरुसँगको कफीगफमा कडरियाले भने ‘बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेका हौं ।’ सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालिमा अध्यक्ष कडरियासँगै युवा व्यवसायीहरु तेजमणि प्रसाईं, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले कृषिकर्ममा सहकार्य गरिरहेका हुन् ।

मुलुकको कूल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दीगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको बताउँदै कडरिया भन्छन्, “हामी कृषिप्रधान मुलुक भन्छौं, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौं ।”

मुलुकको आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उनको भनाइ छ । २०७२ सालमा शुरु गरिएको किवी र लोठसल्लामा हालसम्म तीन करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ । यो वर्षदेखि उक्त कम्पनीमा लगानी रोकेर उत्पादनबाटै धान्ने र आगामी दुई वर्ष बिइपीमा पुर्याउने लक्ष्य कम्पनी सञ्चालकहरुको छ ।

किवी फलको रुपमा खाइने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको कडरियाको भनाई छ । एउटा किवीको बिरुवा रोपेपछि राम्रो स्याहार पायो भने तीन वर्षपछि उत्पादन दिन थाल्ने र ३५ देखि ५० वर्षसम्म वार्षिक ५० केजी हाराहारी दरमा उत्पादन लिन सकिने कडरियाको भनाई छ ।

गतवर्ष पूर्वका पहाडी जिल्लामा मात्र सात लाख केजी किबी उत्पादन भएको तथ्याङ्क सुनाउँदै कडरिया भन्छन्, “इलाममा मात्र डेढ लाख केजी उत्पादन भएको र उत्पादन अझै बढ्दै जाने देखिन्छ ।”

नेपाली कृषकले किवी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नु परेको उनको अनुभव छ । उत्पादनस्थलदेखि बजारसम्म पुर्याउन कोल्डचेन’ जरुरी हुने तर हामीसँग सोको व्यवस्थापन हुन नसक्ता सिजनमा त्यो पनि सस्तोमा किवी बेच्नु परिरहेको उनले बताए ।

“भण्डारणका लागि उचित व्यवस्था नहुँदा कृषकले उत्पादन गरेको किवी चाँडै बिग्रिने समस्या देखिएको छ, जसले गर्दा कृषकले मूल्य पाएका छैनन्, बजार पनि खस्किएको छ” कम्पनीका अध्यक्ष कडरियाको भनाई छ ।

बेमैसममा नेपालमा न्यूजील्याण्डबाट किवी आयात हुने गरेको कडरिया सुनाउँछन् । विश्वमा सबैभन्दा धेरै न्यूजील्याण्ड र चीनमा उत्पादन हुने किवीले ओगटेको उनको भनाइ छ । “यहाँ उत्पादन हुने किवीको स्वाद राम्रो छ”, उनले थपे, “किवी उत्पादन गरेर विश्व बजारमा पुर्याउने सोचका साथ विभिन्न एजेन्सीसँग कुरा पनि गरिरहेका छौं ।”

कृषकको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शितभण्डार गृह निर्माणमा जोड दिनुपर्ने कडरियाको सुझाव छ । “राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ” उनले भने, “वास्तविक कृषकले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन् ।”

किवी उत्पादन बृद्धिका लागि परागसेचनको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो नेपालमा हावा र माहुरीको भरमा परागसेचन भइरहेको हुँदा किवी खेतीमा चुनौती देखिएको कडरियाले बताए । परागसेचनका लागि चीन र न्यूजील्याण्डले अपनाएको प्रविधि नेपालमा ल्याउन जरुरी रहेको उनको सुझाव छ ।

सम्बन्धित खबर