बिर्तामोड । झापाका १३१ वटै वडामा क्रियाशील सदस्यता नवीकरण जारी राखेको नेपाली कांग्रेस झापाले १५ दिन म्याद थप गर्ने निर्णय गरेको छ ।
कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेको सभापतित्वमा बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । झापाका १५ वटै पालिकाका सबै वडामा गत असार १५ गते क्रियाशील सदस्यता फारम क्षेत्रीय समितिमार्फत पठाइएको थियो ।
कांग्रेस झापाले यसअघि साउन २० गतेभित्रमा वडामा क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णयसहित फारम पठाएपनि वर्षात्का कारण कतिपय वडामा नवीकरणमा समस्या देखिएपछि समयावधि थप गरिएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए ।
जिल्ला समितिको बैठकले भदौ ५ गतेभित्रमा वडा समितिले क्रियाशील सदस्यता नवीकरण गरिसकेर गाउँ/नगरमा पठाउन आग्रह गरेको छ ।
यसैगरी, गाउँनगरले भदौ १५ गतेभित्रमा प्रदेशसभा क्षेत्रीय समितिमा, प्रदेशसभा क्षेत्रीय समितिले भदौ २० गतेसम्म क्षेत्रीय समितिमा र भदौ २५ गतेभित्र क्षेत्रीय समितिले जिल्ला समितिमा बुझाइसक्न समयसीमा तोकेको छ ।
बैठकले यसअघि जिल्ला प्रतिनिधिका रुपमा वडामा खटिएका जिल्ला सदस्यहरुलाई क्रियाशील नवीकरणमा सहजीकरण गर्न आग्रह गर्दै सक्रियतापूर्वक लाग्न र वडाको प्रगति विवरण जिल्ला समितिमा पेश गर्न अनुरोध गरेको छ ।