काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए ।
हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अरु दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए। उनले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिए।
शाखाका प्रमुख डा. पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र यो पानी दुषित रहेको बताए। उनले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर पिउन अनुरोध गरेका छन् ।