काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनायो ।
यूएईकी खुशी शर्माले ३६,कविशा इगोदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जोशीले समान १ विकेट लिइन् ।
नेपाल र यूएईको खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ ।
नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।
यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।