
काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
यस अवसरमा कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र बहस कार्यक्रम गर्दै छ ।कार्यक्रमको पहिलो सेसन फोटो प्रदर्शनी हुनेछ । कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।‘२००७ सालदेखि २०६४ सालसम्मका इतिहासले समेट्ने फोटोहरू राखिन्छ । ती सबै फोटो गिरीजाबाबुसँग सम्बन्धित हुनेछन्,’ विश्वकर्माले भने ।
कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुने छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रुपमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली रहने छन् । उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन् ।
बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् । ’समुन्नतिको दोस्रो जग’ विषयको बहसको सहजीकरण अर्थविद् डा. विश्व पौडेलले गर्नेछन् ।
जन्मजयन्तीमा नौलो कार्यक्रमका रूपमा फोटो पत्रकारलाई पनि वक्ताका रूपमा राखेर बहस गर्न लागिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।