काठमाडौं । वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेख र कालीकोटको सीमानामा पर्ने दहीखोला, कालीखोला लगायतका ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
यस्तै दैलेखको पादुका र साँगेदडाको बीचमा पर्ने सडक खण्डमा पनि पहिरो खसेको छ । पहिरोका कारण रातिदेखि नै दैलेख–कालीकोट सडक खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालीकोटका लागि हिँडेका यात्रु अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै पहिरोले मध्यपहाडी राजमार्गको रुकुम खण्ड पनि अवरुद्ध भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा रुकुम पश्चिम हुँदै रुकुम पूर्व, पोखरा, काठमाण्डौ तथा रुकुम पूर्वबाट रुकुम पश्चिम, सल्यान, दाङ, नेपालगञ्ज जाने गाडी रोकिएका छन् । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।