२०८१ पौष २६, शुक्रवार , ०५:४९:५८ बजे

Sajhamanch
'

१७ औँ संस्करणको युरो कप आजदेखि, उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्ड खेल्दै

शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबल २०२४ आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज राति पौने १ बजे जर्मनी र स्कटल्यान्ड खेल्दैछ । यो खेल जर्मनीको म्युनिखमा हुनेछ ।

आजदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक जर्मनीसहित, स्कटल्यान्ड, हङ्गेरी र स्विट्जरल्यान्ड छन् । यस्तै समूह ‘बी’ मा स्पेन, क्रोएसिया, गएको संस्करणको विजेता इटाली र अल्बानिया छन् । समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङ्ग्ल्यान्ड छन् । यसैगरी समूह ‘डी’ मा पोल्यान्ड, नेदरल्यान्ड्स, अस्ट्रिया र फ्रान्स छन् । समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन छन् । समूह ‘एफ’ मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक छन् ।

देश एकीकरण भइसकेपछि जर्मनीले पहिलो पटक युरो कप आयोजना गर्न लागेको हो । यसअघि सन् १९८८ मा पश्चिम जर्मनीमा यो प्रतियोगिता भएको थियो ।

जर्मनी युरो कपको सबैभन्दा सफल टिममध्ये एक हो । जर्मनीले सन् १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो । यस्तै स्पेनले पनि सन् १९६४, २००८ र २०१२ मा गरी तीन पटक उपाधि जितेको थियो । यसैगरी गएको संस्करणको विजेता इटाली र फ्रान्सले समान दुई पटक उपाधि जितेका छन् ।

सम्बन्धित खबर