मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सञ्चालन भएको छ ।
मेचीनगर नगरपालिकाको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहीवार दुई दिन मेचीनगर आइडिया हन्टको आयोजना गरिएको हो । सो कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बुधबार गरे ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले मेचीनगर स्थानीय सरकार युवाप्रति संवेदनशील रहेको बताए । उनले कार्यविधि नै बनाएर युवा लक्षित कार्यक्रम अगाडि बढाउन आफूहरू लागिरहेको अवगत गराए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अब नगरपालिकाले अझ प्रभावकारी ढंगले युवाको सक्रिय सहभागीता रहने र नतिजा आउने खालका सीप, ज्ञान र दक्षता अभिबृद्धि गर्ने विभिन्न कार्यक्रम ल्याउने बताए ।
कार्यक्रमको पहिलो दिन मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापतिलगायत पदाधिकारी, राजनीतिक दल समर्थक विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरियो । उनीहरूलाई विषय विज्ञ विमल राजवंशी र विकास कोइरालाले सहजीकरण गरेका थिए ।
बिहीबार नगरका २०० जनाभन्दा बढी विद्यार्थीको सहभागितामा कार्यक्रम सञ्चालन हुने कार्यतालिका रहेको जनाइएको छ ।
वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको अध्यक्षता मेचीनगर युवा परिषद् अध्यक्ष कृष्ण काफ्लेले गरेका थिए ।