२०८१ मंसिर ९, आइतवार , ०४:१३:४७ बजे

Sajhamanch
'

झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादन बढ्यो

बिहिवार, जेठ २४, २०८१

झापा । झापामा खेतीयोग्य जमिन घटेपनि उत्पादकत्व बढ्दै गएको छ ।

किसानलाई समयमा मलखाद, बीउ तथा सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुँदा उत्पादन बढेको हो । सरकारले अनुदानमा विद्युत मोटर प्रदान गरेपछि समयमा खेती गरिँदा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

जिल्लामा १९ हजार ८५० हेक्टर क्षेत्रफलमा चैते धान हुँदै आएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा एक लाख चार हजार १४ मेट्रिक टन उत्पादन भएकामा आव २०७९/८० मा चार लाख ३६ हजार चार सय ६७ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।

उनका अनुसार ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खेधान खेती हुँदै आएको छ । जिल्लामा उत्पादन हुने बालीमध्ये धान र मकै प्रमुख रहेको विष्टले बताए ।

संघीय सरकारको सहयोगमा कचनकवल गाउँपालिकामा ‘धान सुपरजोन कार्यक्रम’ सञ्चालन गरिएसँगै उत्पादनमा वृद्धि हुँदै गएको उनको भनाई छ ।

एक लाख ६० हजार ६ सय हेक्टर क्षेत्रफलमा फैलिएको जिल्लामा कृषिमा आधारित खेतीयोग्य जमिन ९८ हजार ७ सय १६ हेक्टर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख विष्टका अनुसार करिब ५० दशमलव ५३ प्रतिशत भू–भागमा सिँचाइ सुविधा पुगेको छ ।

थप सिँचाइ उपलब्ध गराउने उद्देश्यले संघीय र प्रदेश सरकारले ‘बोरिङ’ तथा स्यालो ट्युबेल खरिदमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

यहाँका किसानका लागि उन्नत बीउबिजन, मलखाद, कृषि उपकरण र प्रविधि खरिदमा अनुदान कार्यक्रम सञ्चालन गरिएको जनाउँदै प्रमुख विष्टले अन्य प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भइरहेको बताए ।

उनका अनुसार उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुर्याउन कृषि बजार निर्माण, गह्रासुधार तथा चक्लाबन्दी खेती प्रवर्द्धन, तोरीखेती तथा मौरीपालन, स्यालोट्युबेल, मोटर जडान, प्राङ्गारिक मल उत्पादन तथा पूर्वाधार निर्माण, सोलार सिँचाइ योजना, तरकारी संकलन केन्द्र निर्माणलगायत कार्यक्रम सञ्चालित छन् ।

कृषि क्षेत्रको प्रवद्र्धन र संरक्षणमा प्रदेश सरकारको लगानी पर्याप्त नदेखिए पनि ज्ञान केन्द्र र स्थानीय तहमार्फत किसानलाई अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम उपलब्ध भइरहेको केन्द्रका प्रमुख विष्टले बताए ।

प्रदेश सरकारको सहयोगबाट केन्द्रले केरा ब्लक विकास, स्रोत बीउ तथा उन्नत बीउ उत्पादन, जुटखेती प्रवर्द्धन, युवा लक्षित तरकारी, च्याउ तथा मह उत्पादन, सुपारी प्रशोधन उद्योग तथा यन्त्र उपकरणमा सहयोग, जैविक विषादी उत्पादन तथा प्रवर्द्धन लगायत कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

प्रदेश सरकारले केन्द्रमार्फत रु ४ करोडभन्दा बढी र स्थानीय तहमार्फत रु नौ करोडभन्दा बढी अनुदान प्रदान गरिरहेको विष्टको भनाई छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान झापाको उत्पादनले दिइरहेको उनले बताए ।

यहाँका करिब ६० दशमलव चार प्रतिशत जनसंख्याको जीविकोपार्जनसँग जोडिएको कृषिक्षेत्र आर्थिक समृद्धिको आधार रहेकाले खाद्यमा दिगो पहुँच स्थापना गर्न सरकारको योगदान महत्वपूर्ण रहेको उनले बताए ।

कोशी प्रदेशमा झापा सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र हो । बर्सेनि रोपाइँ हुने क्षेत्र घट्दा खेतीयोग्य जमिन मासिँदै गएका छन् । ‘दश वर्षअघिसम्म जिल्लामा करिब ९० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्थ्यो ।

पछिल्लो समय जग्गा प्लटिङ गर्दै आवास क्षेत्रमा परिणत गरिँदा खेतीयोग्य जमिन घट्दै गएको छ’, केन्द्रका प्रमुख विष्टले भने । शहरी क्षेत्रमा बढ्दो प्लटिङ र ग्रामीण क्षेत्रमा युवा जनशक्ति अभाव हुँदा धानको उर्वर फाँट मासिने क्रम बढेको उनले बताए ।

जिल्लाका १५ स्थानीय तहमध्ये कचनकवल, गौरादह, शिवसताक्षी र गौरीगञ्जमा तुलनात्मक रूपमा उत्पादन बढी हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानपछि मकै प्रमुख अन्न बालीमा पर्दछ ।

आव २०७९/८० को तथ्यांकअनुसार ४४ हजार २५० हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा दुई लाख २५ हजार ६७५ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाको झापा गाउँपालिकामा मकै ब्लक कार्यक्रम सञ्चालन गर्दै किसानलाई मलखाद, सिँचाइ र बीउमा अनुदान उपलब्ध गराएसँगै मकैखेती गर्ने किसानको संख्या बढेको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले बताइन् ।

उनका अनुसार उत्तरी झापामा सुपारीखेती प्रवर्द्धनका कार्यक्रम सञ्चालित छन् । साथै, यहाँका कृषकले सुपारी बारीमा कागती, मरिच, बेसार, अलैँची र अदुवाखेती गरेका छन् ।

जिल्लाका किसानले फापर, कोदो लगायत बालीसमेत लगाउँदै आएका जिल्ला कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित खबर