२०८१ मंसिर १५, शनिवार , ११:४५:४० बजे

Sajhamanch
'

नौ हजार बढी घरपरिवारलाई पानी पुर्याउँदै बिर्तामोड खानेपानी

सोमवार, जेठ २१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकास्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नौ हजार बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ ।

संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा नगरपालिका–५, ६ र ११ का केही स्थानका गरी नौ हजार दुई सय घरपरिवारलाई शुद्ध खानेपानी वितरण गर्दै आएको संस्थाका सचिव पारशमणि मैनालीले जानकारी दिए ।

संस्थाले तीन वटा ओभरहेड ट्यांकी, १६ वटा डिप बोरिङ र ११ वटा फिल्टर प्लाण्टबाट दैनिक करिब दुई करोड १२ लाख लिटर पानी उत्पादन गरी चौबीसै घण्टा वितरण गर्दै आएको छ ।

पानीको माग बढ्दै

बिर्तामोड खानेपानीमा हाल दैनिक ३०–३५ जना उपभोक्ता धारा जडानका लागि माग गर्न आउने गरेका छन् । बिर्तामोड–३ स्थित सैनिक बजारमा पानीको माग बढेपछि हालै एउटा फिल्टरसहित डिप बोरिङ जडान गरिएको छ ।

“झण्डै एक करोड रुपैयाँको लागतमा फिल्टरसहितको डिप बोरिङ गरिएको छ”, सचिव मैनालीले भने, “उपभोक्ताको माग बढेपछि डिप बोरिङ गाडेका हौं ।”

सो क्षेत्रमा ४५० उपभोक्ता छन् भने डिप बोरिङ सञ्चालनमा आएपछि नौ सयदेखि एक हजार घरपरिवारलाई खानेपानी वितरण गर्न सकिने संस्थाले जनाएको छ । संस्थाले चालू आर्थिक वर्षमा अर्जुनधारा–११ र अर्जुनधारा–६ मा फिल्टरसहितको डिप बोरिङ जडान गरेको छ ।

जग्गा व्यवस्थापनसमेत गरेर रू दुई करोड ५० लाख खर्च भएको सचिव मैनालीले बताए ।

सडक निर्माणले समस्या

सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुग्दा समस्या हुने सचिव मैनाली बताउँछन् । “सडक, ढल बनाउँदा पाइप फुटेर हैरान हुन्छ”, उनले भने, “सडक बनाउने बेला हामीलाई कुनै जानकारी दिइँदैन, पाइप फुटिसकेपछि फोन आउँछ ।”

खानेपानी जस्तो आधारभूत कुरालाई सरोकारावाला निकायले नजरअन्दाज गर्नु विडम्बना भएको उनले बताए । सडक निर्माणका क्रममा क्षति भएको पाइपलाइन मर्मतका लागि सडक निर्माणको ठेक्का लिने र दिने दुवैले चासो नदिँदा समस्या हुने गरेको छ ।

एउटा सडकमा चार पटकसम्म पाइप बिछ्याउनुपर्ने बाध्यता रहेको सचिव मैनाली सुनाउँछन् ।

“उपभोक्तालाई पानी नदिँदा समस्या हुन्छ, मर्मत गर्न आर्थिक समस्या हुन्छ”, उनले भने, “सडक निर्माण गर्दा अन्य सरोकारवालालाई जानकारी र बजेट छुट्याए जसरी खानेपानीलाई पनि बजेट र महत्व दिनुपर्छ ।”

निजी स्रोतबाट सेवा दिँदै

आफ्नै सीमित स्रोत, साधन र बजेटको परिधिमा रहेर आमउपभोक्तालाई शुद्ध खानेपानी वितरण गरिँदै आएको संस्थाका अध्यक्ष मेघराज बाँस्तोला बताउँछन् ।

“उपभोक्ताको चाहना अनुसार सकेसम्म न्यायोजित ढंगले पानी उपलब्ध गराउँदै आएका छौं”, उनले भने, “पानीको माग अत्याधिक बढेको छ, क्षमताले भ्याएसम्म काम गरिरहेका छौं ।”

बिर्तामोडमा शहरीकरणसँगै जनघनत्व बढ्दै गएकाले पानीको माग पनि दिनदिनै बढ्दै गएको छ । तर, खानेपानी संस्थाको क्षमता वृद्धिका लागि सरोकारवाला निकायबाट सहयोग मिल्न सकेको छैन ।

पाइपलाइन विस्तारमा मात्र सहयोग गरे खानेपानीको पहुँच अभिवृद्धि हुने संस्थाका व्यवस्थापक खड्ग गिरी बताउँछन् । नगर विकास कोषले मुलुककै उत्कृष्ट खानेपानी संस्थाका रुपमा सन् २०१८ र सन् २०२२ मा पुरस्कृत गरेको बिर्तामोड खानेपानीको ऋण रू ८५ लाख रुपैयाँ छ ।

उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन एडीबीबाट लिएको ऋण मध्ये उक्त रकम तिर्न बाँकी रहेको संस्थाले जनाएको छ ।

प्रविधिमैत्री बन्दै

संस्थामा वेभमा आधारित भौगोलिक सूचना तथा सम्पत्ति व्यवस्थापन र सुपरिवेक्षण प्रणाली (जीआइएस) लागू गरेको छ ।

दियालो टेक्नोलोजीले निर्माण गरेको यो प्रणाली जीआइएस प्रणाली मार्फत मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन मिटरमार्क, बिलिङ व्यवस्थापन, सूचना र सञ्चारका लागि एसएमएस प्रणाली, अनलाइन प्रणालीबाट खानेपानीको महसुल भुक्तानी, वित्तीय लेखा, जिन्सी व्यवस्थापन, ग्राहक सेवा व्यवस्थापन, ग्राहकका लागि मिटर रिडिङ लगायतका सेवा अनलाइन मार्फत हुने संस्थाले जनाएको छ ।

सम्बन्धित खबर