कमल । कमल गाउँपालिका–६ की विमला बराईलीलाई यतिबेला फुर्सद निकाल्न धौ–धौ छ । एक वर्षअघि कपडा सिलाई बुनाईको सामान्य व्यवसाय शुरु गरेकी उनलाई व्यावसायिक रुपमा कपडाको सिलाई बुनाई थालेदेखि फुर्सद हुनै छोडेको हो ।
“यसरी व्यवसाय गरुँला, यति साह्रो व्यस्त हुँला भन्ने सोचेकै थिइँन” घरेलु उद्यमी बराईली भन्छिन्, “परिस्थितिले अहिले व्यस्त बनायो, कहिलेकाहीँ त साथीसँगी आउँदा बोल्नसमेत पाउँदिन ।”
विमलाका लागि एक वर्ष अघिसम्म सिलाई कटाईको काम घरै बसेर दिन कटाउने मेलो मात्रै बनेको थियो । आफ्नै गाउँपालिकाले (कमल गाउँपालिका) महिलाहरूलाई क्षमता विकासको तालिम दिने खबर सुनेपछि उनी वडा कार्यालय गइन् र नाम टिपाइन् ।
त्यसपछि ६ महिनाको तालिम लिएर झन्डै ४ महिना घरमै सिलाई कटाई मेशिन चलाएकी बराईलीले अहिले कमल उर्जाशील नारी लघु उद्यमी समूह नामक फर्म सञ्चालन गरेकी छन् । सिलाई बुनाईको काम सिक्ने इच्छा भएकालाई विमलाले तालिमसमेत दिइरहेकी छन् ।
उक्त व्यवसायबाट अहिले उनको दैनिकी नै फेरिएको छ । दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमाई हुन थालेपछि उनको आर्थिक पक्ष पनि क्रमशः सबल बन्दै गएको छ ।
“आत्मबल बढेको छ, आफ्नै खुट्टामा उभिन सक्ने भएँ, दुई–चार जना मान्छेका बीचमा निर्धक्क कुरा राख्न सक्ने भएकी छु”, विमला भन्छिन्, “यो सबै क्षमता विकास तालिमको उपलब्धि हो ।”
उनी त क्षमता विकास तालिमबाट फेरिएकी एक प्रतिनिधि पात्र मात्र हुन् । कमल गाउँपालिकामा विमला जस्तै स्वरोजगार बनेर विभिन्न पेशा र व्यवसायमा संलग्न भएका युवा दर्जन बढी छन् ।
स्थानीयस्तरमा विकास निर्माणलाई प्राथमिकतामा राखेर खर्चको उचित व्यवस्थापन गर्दै उक्त गाउँपालिकाले क्षमता विकास तालिम सञ्चालन गर्दै आएको छ ।
सो पालिका प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउने, स्थानीयको क्षमता विकास गरी जीवनस्तर उकास्दै सभ्य समाजको निर्माण गर्ने लगायत अभ्यासमा जुटेको छ ।
उक्त पालिकाले आफ्नो पालिकाभित्र स्थायीरुपमा बसोबास गरिरहेका नागरिकका लागि सञ्चालन गरेको क्षमता विकास तालिम लिएपछि अधिकाँश युवाहरूले आफ्नै व्यवसाय शुरु गरेका छन् ।
सो तालिम लिएकामध्ये केही युवाले सिकेको सीप र क्षमतालाई सदुपयोग गर्दै वैदेशिक रोजगारीमा गएर राम्रो आम्दानीसमेत गरिरहेका छन् । पछिल्लो समय सो पालिकाले नागरिकको मागका आधारमा क्षमता विकाससम्बन्धी विभिन्न तालिम सञ्चालन गरेको छ ।
गत आर्थिक वर्षमा ढाका तालिमसहित एसी फ्रीज मर्मत ४० जना, कफी बनाउने ६० जना, एड्भान्स ड्राइभिङ ४० जना र लोकसेवा तयारी कक्षा ४० जनालाई प्रदान गरेको थियो ।
त्यस्तै, बालबालिकाकालाई बाल विवाह, बाल संरक्षण, लागूपदार्थ दुव्र्यशन, उद्घोषण तालिम र दलिततर्फ उद्यमशीलता, सिलाई कटाई, नेतृत्व विकास लगायत तालिम सञ्चालन गरिएको सो पालिकाले जनाएको छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा मोबाइल मर्मतसम्बन्धी एड्भान्स तालिम ३२ जना, लोकसेवा तयारीसम्बन्धी एड्भान्स तालिम, ड्राइभिङसम्बन्धी तालिम ३४ जना, ब्यूटिसियनसम्बन्धी तालिम २३ जना, १४ जना महिलालाई ठेला वितरण, ४५ जना महिला जनप्रतिनिधिलाई क्षमता विकास तालिम, साबुन र फिनेल बनाउने तालिम ७० जनालाई दिइएको छ ।
तालिम लिएका प्रत्येक युवा स्वरोजगार बनेपछि उनीहरुको जीवनस्तरमा परिवर्तन आएको र पालिकाको राजस्वमासमेत वृद्धि भएको छ ।
पालिकाबाट तालिम लिएर स्वरोजगार बनेका व्यवसायीलाई उनीहरूको व्यवसाय प्रवर्द्धन गर्न गाउँपालिकाले सधैं आवश्यक सहयोग गर्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए ।
‘युवाहरूलाई तालिम मात्र दिएका छैनौं, सञ्चालन गरेका व्यवसाय विस्तार गर्न पालिकाको स्रोत र साधनले भ्याएसम्म सहयोग गरेका छौं ।’, उनले भने ।
“तालिमले सेवा प्रदायक संस्था र सेवाग्राहीबीचको सम्बन्धसमेत सुमधुर बनाएको छ” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य भन्छन्, “दुवै पक्षले आफ्नो जिम्मेवारी र कर्तव्य बुझेर सेवा दिने र लिने गर्दा सहज भएको छ ।”
सो पालिकामा विभिन्न कार्यक्रम सञ्चालन गरिएसँगै पालिकाको आवधिक योजना निर्माण, वार्षिक रणनीतिक योजना निर्माण, सूचना प्रविधि, आन्तरिक नियन्त्रण प्रणाली, लैङ्गिक समानता, आर्थिक योजना निर्माण लगायत क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ ।