मेचीनगर । मेचीनगर नगरपालिकाकले पछिल्लो समय समाजको विद्यमान समस्याको रुपमा विकसित हुँदै गरेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।
मेचीनगर नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा जेठ २ गतेदेखि ७ गतेसम्म आयोजना भएको लागु पदार्थजन्य प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रतिनिधिमुलक रुपमा १५ वटै वडाका युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।
समापन सत्रमा बोल्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मेचीनगर नगरपालिका लागुपदार्थ दुव्र्यशनीको विषयमा गम्भिर रहेको बताएका छन् ।
यसलाई समुदायस्तरबाटै निर्मुल पार्न विभिन्न कार्यक्रमहरु अगाडि सारिएको बताउँदै नगरप्रमुख बुढाथोकीले नगरपालिकाद्वारा सञ्चालित तालिमले समाजमा युवामाझ चुनौतीको रुपमा बढ्दै गइरहेको लागु पदार्थजन्य प्रयोग नियन्त्रणमा टेवा पुर्याउने विश्वास लिइएको बताए ।
नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले तालिममा सक्रिय सहभागी बनेका प्रशिक्षार्थीहरुले आ–आफ्नो वडा तथा समुदायमा लागु पदार्थजन्य प्रयोग नियन्त्रणका लागि सचेतना जगाउँनु पर्ने बताइन् ।
समुदायस्तरमा सचेतनाले जगाउँदा पनि केही हदसम्म लागु पदार्थजन्य प्रयोग नियन्त्रण हुने बताइन् । उनले दक्ष प्रशिक्षकहरुबाट तालिममा सिकाइएका र जानकारी दिइएका विषयहरु समुदायमा पुर्याउन प्रशिक्षकहरुलाई आग्रह गरिन् ।
तालिममा सहभागीहरुलाई मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सोमनाथ ढकाल, गोविन्द न्यौपानेलगायतका प्रशिक्षकहरुले प्रशिक्षण गराएका थिए ।