२०८१ फागुन २, शुक्रवार , १२:२८:३० बजे

Sajhamanch
'

दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल : पूर्वेली युवा क्लबको शानदार जित

सोमवार, वैशाख ३१, २०८१

बिर्तामेड । कृष्ण शाक्यको व्यक्तिगत पाँच गोलसँगै आयोजक निलो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली हाम्रो इटहरी भेट्रान्स फुटबल क्लबमाथि गोलको वर्षा गरेको थियो ।

इटहरीलाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक पूर्वेली युवा क्लब निलो अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको १२औँ मिनेटमा पूर्वेलीका मित्र बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । पाँच मिनेटभित्र आयोजकले लगातार तीन गोल गर्दै खेल ४–० मा पुर्याएको थियो ।

कृष्ण शाक्यले खेलको २६औँ, २९औँ, ४५औँ, ५१औँ र ७०औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, ३०औँ मिनेटमा मित्र बस्नेतले व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै, खेलको ५७औँ मिनेटमा अंकुर खड्गी र ६५औँ मिनेटमा सुमन श्रेष्ठले एक–एक गोल गरे ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच ५ गोलकर्ता कृष्ण शाक्य भए । उनले नगद २५०० र ट्रफी पाए ।

यसअघि क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं र राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले शुभकामना व्यक्त गरेका थिए ।

सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रममा क्लबका महासचिव विकास बस्नेतले स्वागत गरेका थिए ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने प्रतियोगिता संयोजक टेकराज तिलिङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ पाउने कायैवाहक अध्यक्ष चौधरीले बताए ।

प्रत्येक खेलको प्लेयर अफ दि म्यचाले नगद २५०० र ट्रफी पाउने छन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक तिलिङले बताए ।

क्लबका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् । उपविजेताको पुरस्कार टुबोर्ग बियरले उपलब्ध गराएको हो ।

सम्बन्धित खबर