
काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रामग्राम परासीमा रहेको प्लान्टको उद्घाटन गर्नुभयो ।
दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षको अवसर पारेर प्लान्ट उद्घाटन गरिएको हो । कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा औद्योगिक वातावरणका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो । श्रेष्ठकाअनुसार प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता पाँच हजार चार सय थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी प्लान्टमा नरहेको उहाँको भनाइ छ ।