ग्वादर । पाकिस्तानमा पछिल्लो समय दिनहुँ जस्तो आतङ्कवादी हमलाहरू भइरहेका छन् । बुधबार राति ग्वादरमा एक आतङ्कवादी हमलामा सात मजदुरको ज्यान गएको छ ।
स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर जेट्टी नजिकैको आवासीय क्वार्टरमा आक्रमण गरेका थिए ।
आतङ्ककारीहरूले अन्धाधुन्ध गोली चलाउँदा सुतिरहेका सात जनाको मृत्यु भएको बताइएको छ । अर्को एक जना घाइते भएका छन् ।
पाकिस्तानमा आतङ्कवादी हमलामा वृद्धि भएको छ । सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजले हालै सार्वजनिक गरेको वार्षिक सुरक्षा प्रतिवेदन अनुसार २०२३ मा पाकिस्तानमा ७८९ आतङ्कवादी हमला भएको थियो । यी आक्रमणमा १ हजार ५२४ जनाको मृत्यु भएको थियो भने १ हजार ४६३ जना घाइते भएका थिए ।
मृतक र घाइतेको सङ्ख्या पछिल्लो ६ वर्षयताकै उच्च हो । यसअघि मार्च २० मा पाकिस्तानको बलुचिस्तानको ग्वादर बन्दरगाहमा आतङ्कवादी हमलाको खबर आएको थियो । आठ सशस्त्र आतङ्ककारीहरू ग्वादर पोर्टको अथोरिटी कम्प्लेक्समा जबरजस्ती प्रवेश गरेर जथाभाबी गोली प्रहार र बम विस्फोट गराएका थिए ।