
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् ।शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ ।
१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।
नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङले जित हासिल गरेका थिए ।