
बिर्तामोड । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नं. २ र बझाङको प्रदेशसभा निर्वाचनमा पार्टीको पक्षमा मत परिणाम ल्याउने गरी चुनावी प्रचार–प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् । इलाम २ का उम्मेद्वार डम्बर खड्का विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशिल रहेको र हरेक नागरिकको दुःखसुखको साथी बनेर थुप्रै सामाजिक काम गरेको बताउँदै नेपाली कांग्रेसका उम्मेदवार खड्कालाई मत दिन इलाम–२ का बासिन्दालाई आग्रह पनि गरे ।
सो बैठकमा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले इलाम क्षेत्र नं. २ का सबै वडामा प्रदेश समितिबाट प्रतिनिधि खटाइएको जानकारी दिँदै मतदातासँग स्थलगत भेटघाट, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार एवं ब्यक्तिगत सम्बन्धका आधारमा मतदातासम्म पुगेर नेपाली कांग्रेसका उम्मेद्वारले गरेका सामाजिक कामको प्रचारप्रसार गर्न आग्रह गरे ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेस इलामका सचिव निरोज खड्कीले इलाम क्षेत्र नं. २ को भौगोलिक अवस्थितिबारे जानकारी दिएका थिए । उनले सो क्षेत्रमा १ लाख १८ हजार मतदाता रहेका छन् भने उक्त निर्वाचन क्षेत्रले झापाको उत्तरी क्षेत्र र पाँचथरको केही भूभाग जोडिएको जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेस झापाको बैठकले इलाम क्षेत्र नं. २ मा निर्वाचनको प्रचारप्रसारका लागि स्वतस्फूर्त रुपमा खटिन सबै नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।
निर्वाचन नेपाली कांग्रेस पार्टीका लागि प्रतिष्ठाको विषय बताउँदै बैठकमा विचार अधिकांश वक्ताहरुले सुक्ष्मरुपमा निर्वाचन परिचालन गर्न सुझाव दिएका थिए ।