२०८१ कार्तिक १०, शनिवार , ०३:०३:४९ बजे

Sajhamanch
'

कांग्रेसद्वारा विभिन्न क्षेत्रका १० जना अग्रज सम्मानित

बुधवार, चैत २८, २०८०

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित, सञ्चार, शिक्षा र समाजसेवा क्षेत्रमा क्रियाशिल १० जना अग्रज व्यक्तित्वलाई सम्मान गरेको छ ।

वडा समितिले नव वर्ष–२०८१ को पूर्वसन्ध्यामा बिर्तामोडस्थित कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन एवं सम्मान कार्यक्रममा सञ्चार, शिक्षा, राजनीति, समाजसेवालगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका १० जना सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा नेपाल प्रेस युनियन केन्द्रीय समिति सचिव रेजिना गौतम, देवीप्रसाद तिम्सिना, यशोदा ओली, गणेशप्रसाद सिटौला, चन्द्र कट्टेल, खड्गप्रसाद सिटौला, डिल्ली प्रसाईं, विष्णुबहादुर राई (मुन्ना) पवित्रा तामाङ र चन्द्रबहादुर सापकोटा छन् ।

सञ्चार क्षेत्रबाट सामाजिक रुपान्तरण एवं राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बिर्तामोडबाट प्रकाशित जनआन्दोलन डट कमका सम्पादक एवं नारी सञ्चार गृहका अध्यक्षसमेत रहेकी गौतमलाई सम्मान गरिएको हो ।

वडा समितिले लामो समयसम्म राजनीतिमा सक्रिय एवं राजनीतिमा लागेकै कारण पीडित बन्नुपरेका अग्रज राजनीतिकर्मी तथा शिक्षा र सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विभिन्न क्षेत्रका अग्रजलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेले सम्मान पत्र र दोसल्ला ओढाएका थिए । कार्यक्रममा नेता थेवेले इलाम क्षेत्र नं. २ को उप–निर्वाचन परिचालनमा आ–आफ्नो तर्फबाट भूमिका खेल्न आह्वान गरे ।

त्यसक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महासमिति सदस्यहरु जलकुमार गुरुङ र सीता पौडेल, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईं, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालगायतले बोलेका थिए ।

वडा सभापति दीपक मेन्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति सुष्मा पौडेल तथा सञ्चालन उपसभापति खगेन्द्र प्रसाईं र सचिव राजेश नेपालले संयुक्त रुपमा गरेका थिए ।

सम्बन्धित खबर