बिर्तामोड । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघ संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।
मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम आयोजना गरिएको ट्रष्ट टीम नेपाल अध्यात्म विभागकी संयोजक रिना थापा (मेहेर मगर) ले जानकारी दिइन् ।
कार्यक्रममा गुरु डा. योगी विकासानन्दले तनाव व्यवस्थापन कसरी गर्ने, सकारात्मक उर्जा कसरी प्राप्त गर्ने, सकारात्मक सोचको विकास कसरी हुन्छ जस्ता महत्वपूर्ण जानकारी तथा उपायहरुका बारेमा प्रवचन दिने उनले जानकारी दिइन् ।
मानिसहरु विभिन्न तनाव, रोग, समस्याबाट ग्रसित हुँदा सफलतापूर्वक आफ्ना काम अगाडि बढाउन नसक्ने भएकाले डा. योगी विकाशानन्दको प्रवचनबाट लाभ लिन सकिने उनको भनाई छ ।
कार्यक्रम शनिबार विहान ७ बजेदेखि १०ः३० सम्म बिर्तामोडको पुरानो भद्रपुर रोडस्थित बिर्ता पार्टी प्यालेसमा हुन लागेको मगरले जानकारी दिइन् ।
कार्यक्रममा सप्तक संगीत विद्यालयको दुईवटा सांगीतिक प्रस्तुितसमेत रहने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न कलेज, सामाजिक संघ संस्था, सहकारी, बीमा कम्पनी, भजनकीर्तन मण्डली, टोल विकास संस्था आदिबाट तीन सय जनाभन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।