२०८१ फागुन १२, सोमवार , ०८:५५:४० बजे

Sajhamanch
'

पेट्रोलियम पदार्थ उत्खनन उपकरणसहितका सामग्री दैलेख पुग्यो

मङ्गलवार, चैत २०, २०८०

काठमाडौं । दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख पुर्‍याइएको छ । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट उत्खनन उपकरणसहित पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख आइपुगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट उपकरण ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठूला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेका छन् ।

यसअघि नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम गरिएको थियो ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग दुई अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

सरकारले भैरवी गाउँपालिका–१, जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरिसकेपछि पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

सम्बन्धित खबर