२०८१ माघ २६, शनिवार , ०१:४१:१६ बजे

Sajhamanch
'

बिर्तामोडमा १११ जना कुष्ठरोगी रहेको तथ्याङ्क सार्वजनिक, जिल्लाभर १५७ जना थपिए !

बिहिवार, चैत १५, २०८०

झापा । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १११ जना रहेको पाइएको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोज पड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँगको अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १११ जना पुगेको जानकारी दिएका हुन् । जसमा सबैभन्दा बढी वडा नम्बर ३ मा १९ जना रहेका छन् । यस्तै वडा नम्बर १ मा १३ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ४ मा १४ जना, वडा नम्बर ५ मा १६ जना, वडा नम्बर ६ मा ६ जना, वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा १३ जना, वडा नम्बर ९ मा ६ जना र वडा नम्बर १० मा १३ जना कुष्ठरोगीहरु रहेको तथ्याङ्क छ ।

कार्यालय प्रमुख बाराकोटीले कुष्ठरोगीले औषधी पूरा मात्रामा सेवन गरे अरुलाई सार्न र अङ्ग भङ्ग हुनबाट बच्ने जानकारी दिए । उनले समाजमा कतिपय रोगीहरु गलत धारणाका कारण लुकेर बस्ने गरेकोले पनि कुष्ठरोग नियन्त्रणमा समस्या देखिएको हो ।

यस्तै नेपाल कुष्ठरोग संगती (एनएलएफ) झापाका कार्यक्रम संयोजक दिपक घिमिरेले विगत २०५७ सालदेखि एनएलएफले नेपाल सरकारको कुष्ठरोग नियन्त्रण कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउँदै आएको जानकारी दिए । उनले झापामा कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए ।

एनएलएफले बिर्तामोड नगरपालिका क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा कुष्ठरोगका विषयमा जनचेतनामुलक कार्यक्रम र रोगको संक्रमण भए नभएको चेकजाँचका लागि स्क्रिनिङ गर्ने कार्य गर्दै आएको छ ।

बिर्तामोडलाई कुष्ठरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत प्रथम चरणमा वडा नम्बर १, ४, ५, ६ र ८ लाई प्राथमिकता दिएर अभिमुखिकरण कार्यक्रम गरिएको बिर्तामोडका कुष्ठरोग फोकल पर्सन दिपक सापकोटाले बताए ।

प्रति १० हजार जनसंख्यामा आर्थिक वर्ष २०७९÷८० को अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप (प्रिभिलेन्स) दर झापाको १ दशमलव ६० रहेको छ । यो कोशी प्रदेशकै सबैभन्दा बढी भएको जनाइएको छ ।

तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा मात्रै झापाका पालिकाहरुमा संक्रमितको संख्या कचनकवलामा २४ जना, बिर्तामोडमा १९ जना, दमकमा १८ जना, गौरीगञ्जमा १६ जना, गौरादहमा ११ जना, हल्दिबारीमा ११ जना, मेचीनगरमा १० जना, भद्रपुरमा १० जना, कमलमा ८ जना, शिवसताक्षीमा ६ जना, झापामा ६ जना, बुद्धशान्तिमा ५ जना, अर्जुनधारामा ५ जना, बाह्रदशीमा ५ जना र कनकाईमा ३ जना गरी १५७ जना बढेको छ ।

अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, राहुल शर्मा, रोहित प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नगर अस्पतालका प्रमुख डा. सुनिल अधिकारी, कार्यपालिका सदस्य, वडा सदस्य लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी र एनएलएफ झापाका कार्यक्रम संयोजकले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर