२०८१ माघ १०, बिहिवार , ०९:५४:४६ बजे

Sajhamanch
'

गतिहीन राजनीति नै गंगाराम अधिकारीहरुको अकाल मृत्युको कारण

बुधवार, चैत ७, २०८०

हल्दिवारी । राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ ।

पछिल्लो पटक रूसी सेनामा भर्ना हुन पुगेका झापाका गंगाराम अधिकारी सहित ७ जना युवाले अवैध बाटो रोजेर पेट पाल्नका लागि अकालमा मर्नु परेको बाध्यता हेर्दा नेपालको राजनीति कहिले सही गतिमा आउला भन्ने प्रश्न उठिरहेको छ ।

झापाको हल्दिवारी १ का ३२ वर्षीय गंगाराम अधिकारी नेपाली माटोमा बसेर सेवा गर्ने अवसर नपाएपछि परिवार धान्न र पेट पाल्नका लागि विदेशीने क्रममा रूसी युद्धमा ज्यान गुमाउन बाध्य भए ।

रघुनाथ र मोतीमाया अधिकारीको बुढेसकालको एक्लो सहारा गंगारामको मृत्युको खबरले बुढो हुँदै गएका उनीहरू बोल्न सक्ने अवस्थामा छैनन् । उनीहरूको एकमात्र छोराको मृत्युको खबरसँगै अहिले छोराको काजकिरिया गरिरहेका छन् । लास र सास देख्न नपाएका उनीहरू छोराको मृत्युको खबर असत्य होस् र छोरो टुप्लुक घरमा आएर उभियोस् भन्ने कामना पनि गरिरहेका छन् ।

गरीबी र बेरोजगारीको समस्याले पिरोलेपछि एउटा मिठो सपना बोकेर वैदेशिक रोजगारीका लागि २ वर्ष अगाडि कतार गएका गङ्गाराम आफ्ना नाबालक छोराहरू, श्रीमती, आमाबुबा र बैनीहरू लगायत आफन्तसित सुखदुख बाँड्न नसक्ने गरी सदासदाका लागि बिदा भएका हुन् ।

परिवारको सुखको सपना पालेर कतारबाटै रुसी सेनामा भर्ती भएसँगै आफ्नो जन्मभूमि नफर्कने गरी उतै अस्ताएका छन् । अधिकारी परिवारको एक्लो छोरा घर आउने सपना चैत १ गतेको रूसी सेना र दूतावासको पत्रसँगै सपना भएको छ ।

    गंगाराम अधिकारी

एउटा साधारण परिवारका गङ्गारामसँगै कतार पुगेका छिमेकी भाइहरू फर्किएका थिए भने गङ्गाराम परिवारको उज्वल भविष्यको चिन्ता गर्दै कतारबाटै एजेन्ट मार्फत गत मङ्सिर ५ गते रूसी सेनामा भर्ती भएको खबर परिवारले सुन्दा छागाबाट खसेको उनका बुबा रघुनाथले आँशुझार्दै बताए ।

युद्धमा होमिएको रूसी सेनामा कसले कसरी पुर्यायो ? उनीजस्तै सयौं युवा भर्ती भएको उनले पटक पटकको कुराकानीमा बताएका थिए ।

२०४८ असोज ५ गते जन्मिएका गङ्गारामका ठूलो छोरा देवराज १५ वर्षका भएका छन् भने सानो छोरा अमिन ५ वर्षका छन् । उनकी पत्नी अनुराधा श्रीमानको सम्झनामा टोलाई रहेकी थिइन् । संस्कृति र धार्मिक परम्परा अनुसार चैत ५ गते गङ्गारामको कुसको शव बनाएर स्थानीय आर्यघाटमा अन्तिम संस्कार गरेर छोरा देवराज काजकिरिया गरिरहेका छन् ।

उनलाई त पत्यार नै लागेको छैन । दुई महिना अगाडिसम्म दैनिकी जसो कुराकानी गर्ने बुबाको रूसी युद्धमा ज्यान गयो भन्ने कुरा छोरा देवराज पत्याउन नसक्ने बताउँछन् । पत्याए पनि नपत्याए पनि अब उनकै काँधमा बुढा भएका हजुरबुवा हजुरआमा, आमा र भाइको साहारा बनेर बुबाको सपना पूरा गर्ने अभिभारा आएको छ ।

फागुन २१ गते उनीहरुले सुनेको हल्ला असत्य होस् भन्ने ठानेका गङ्गारामको परिवार जस्तो ७ जना नेपाली युवाको परिवारले अर्काको भूमिमा गएर अकालमा ज्यान गुमाउनु परेको छ । उनीहरू सबैको पीडा सुन्दा नेपालको राजनीतिले देश र जनताका लागि सही बाटो नपक्रँदा नेपालमै बसेर यहीँको माटोमा सेवा गरेर मर्ने सपना पूरा नहुने प्रश्न छोडिदिएको छ ।

मर्ने त मरी गयो परिवारले आशा गरेको विषय भने वैदेशिक रोजगार कोषबाट र बीमामार्फत पाउने रकम हो । त्यसको लागि उनीहरूसँग केही कागज पत्र छैन । नेपाल सरकार, स्थानीय सरकारले पहल गरेन भने प्राप्त हुने अवस्था पनि छैन ।

गंगारामको परिवारले पाउने श्रम तथा रोजगार मन्त्रालय मार्फत रोजगारदाता कम्पनी तथा बीमा र राहत कोष मार्फत उपलब्ध हुने किरिया खर्च लगायतको सेवा सुविधा अभिलम्ब उपलब्ध होस् । मरेको ज्यान नफर्कला तर मर्नु अगाडि व्यक्तिले गरेको परिश्रमको मूल्य सम्बन्धित निकायले परिवारलाई दिने वातावरण बनाउनु अब सरोकारावाला निकायको जिम्मेवारी हो ।

सम्बन्धित खबर