![](https://sajhamanch.com/wp-content/uploads/2024/03/Dental-camp.jpg)
बिर्तामोड । विश्व मुख स्वास्थ्य दिवस २०२४ को अवसरमा नेपाल डेन्टल एशोसिएसन झापाको आयोजनामा दाँत सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर बिर्तामोड १० स्थित चमरधाप आधारभूत विद्यालयमा सम्पन्न भएको छ ।
ग्रामीण क्षेत्रका विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने सो विद्यालयमा आयोजित शिविरमा विद्यार्थी र तिनका अभिभावक गरी ६० जनाको निःशुल्क दाँत परीक्षण गरिएको थियो । त्यस्तै उनीहरुलाई टुथपेष्ट, ब्रस र हात धुने साबुन वितरण गरिएको नेपाल डेन्टल एशोसिएसन झापाका अध्यक्ष डा. मुकेशकुमार शाहले बताए ।
सो स्वास्थ्य शिविरमा विद्यार्थी र अभिभावकलाई दाँत कसरी सफा राख्ने भनी सचेतनासमेत दिइएको अध्यक्ष डा. शाहले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमानध्वज लोक्तामको अध्यक्षता तथा बिर्तामोड १० का वडाध्यक्ष दूर्योधन गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा डेन्टल एशोसिएसन झापाका महासचिव डा. अक्कल गुरुधामी, कोषाध्यक्ष डा. प्रज्वल पौडेल, सदस्यहरु डा. नेहाल मैनाली, डा. प्रियंका रौनियार, फर्मास्युटिकलका प्रतिनिधिहरु एकराज सुवेदी, निकेश भट्टराईलगायतको सहभागिता थियो ।