काठमाडौं । नेकपा (एमाले) इलाम जिल्ला कमिटीले दुई नम्बर निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि ६ जना आकांक्षीको नाम केन्द्रमा पठाएको छ।
सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र रिपल राईको नाम केन्द्रमा पठाएको एमाले इलाम जिल्ला कमिटी अध्यक्ष महेश बस्नेतले सेतोपाटीलाई जानकारी दिए। नाम सिफारिस भएका सुहाङ सुवास नेम्वाङका छोरा हुन्। सुवेदी जिल्ला कमिटीका उपसचिव छन्।
त्यस्तै खनाल माइ नगरपालिका–७ का वडाध्यक्ष छन्। उनी उपचुनाव हुन लागेको निर्वाचन क्षेत्रको पार्टी संयोजक पनि हुन्। यसैगरी राई कोशी प्रदेश कमिटी सदस्य छिन्। भट्टराई एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा केन्द्रीय सदस्य बनेका थिए। दुलाल जिल्ला कमिटीको सचिवालय सदस्यको भूमिकामा छन्।
एमालेले यसअघि प्रदेश हुँदै केन्द्रमा नाम पठाउने गर्थ्यो। यसपटक सिधै केन्द्रमा नाम पठाउन निर्देशन आएको बस्नेतले बताए। तदनुरूप आइतबार बसेको जिल्ला कमिटीको बैठकले सबै नामलाई केन्द्रमा पठाउने निर्णय गरेको उनले बताए । ‘उम्मेदवारको वैयक्तिक विवरणसहित सोमबार केन्द्रमा नाम पठाउँछौं,’ उनले भने, ‘दर्ताको आधारमा तलमाथि नपारी नाम पठाउन लागेका छौं।’
एमालेले यसअघि उम्मेदवार सिफारिस गर्न जिल्ला उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल बनाएको थियो। त्यही कार्यदलले उम्मेदवारका आकांक्षीहरूको नाम दर्ता गरेको थियो। त्यसमा ६ जनाको निवेदन दर्ता भएको थियो। शनिबार उम्मेदवारका आकांक्षीहरूसँग पनि जिल्ला कमिटीले छलफल गरेको थियो। छलफलमा कसैले पनि नाम फिर्ता लिन नचाहेपछि ६ जनाकै नाम केन्द्रमा पठाइएको हो।
वैशाख १५ गते इलामको निर्वाचन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ। गत भदौ २६ गते त्यहाँबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो। चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ।