२०८१ पौष ४, बिहिवार , ०४:५६:३० बजे

Sajhamanch
'

इलाम २ मा उम्मेदवारी दिने राप्रपाको तयारी

आइतवार, चैत ४, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ। राप्रपाले गत फागुन २८ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट इलाममा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको थियो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार उम्मेदवार छनोटका लागि पार्टीका कोशी प्रदेशका अध्यक्षले इलाम अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्ने कार्यसम्पादन समितिले निर्णय गरिसकेको बताए। राप्रपाले उपनिर्वाचन हुने इलाममा आन्तरिक रूपमा विभिन्न कार्यक्रमहरू जारी राखेको छ ।

झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्षसमेत रहेका पार्टीका नेता रवीन्द्र लिङ्देन नेतृत्वमा राप्रपाले उपनिर्वाचनका लागि इलाममा विभिन्न कार्यक्रमहरू र भेटघाट गरिरहेका छन्।

उपनिर्वाचनमा राप्रपाबाट लक्ष्मी गुरूङ उम्मेदवार हुने चर्चा छ। पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएकी उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनकी पूर्वउपाध्यक्ष हुन्। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

 

सम्बन्धित खबर