
काठमाडौँ । रोमाञ्चक फाइनल खेलमा नेपाललाई चार विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले त्रिकोणीय टि–२० सिरिजको उपाधि जितेको छ।
अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा नेदरल्यान्ड्सले १९.३ ओभरमा १८५ रनको विजय लक्ष्य हासिल गर्दै जित हासिल गरेको हो।
नेदरल्यान्ड्सको जीतमा ओपनर माइकल लेभितले ५४, सिब्रन्ट एन्गेल्ब्रेच्टले ४८, विक्रमजीत सिंहले २९ र अर्का ओपनर म्याक्स ओडाउडले २२ रनको योगदान दिए।
नेपालका तर्फबाट बलिङमा कुशल मल्लले ४ विकेट लिएपनि नेदरल्यान्ड्सको जीत रोक्न सकेनन्। यस्तै अविनाश बोहराले र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात गरेपनि अन्तिम तीन ओभरमा सम्हालिन नसक्दा २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन जोडेको थियो।
नेपालका तर्फबाट ओपनर ब्याटर आशिफ शेखले ३७ बलमा ४७ रन, गुल्शन झाले २५ बलमा ३४ रन, कुशल मल्लले ११ बलमा २६ रन, कप्तान रोहित पौडेलले १९ बलमा २५ रन र कुशल भुर्तेलले १० बलमा २० रनको योगदान दिएका थिए।
नेपाली इनिङ १८ औं ओभरपछि भने एकाएक धर्मराउदा केही रन भने कम जोड्ने स्थिति बनेको छ। १८ ओभरको पहिलो बलमा कुशल मल्ल, अन्तिम बलमा करन केसी, १९ औं ओभरको पहिलो बलमा गुल्शन झा र दोस्रो बलमा आरिफ शेख आउट हुँदा नेपालले आठ बलकै अन्तरमा चार विकेट गुमाएको थियो।
बलिङमा नेदरल्यान्डका फ्रेड क्लासन, भान डर गगटन, माइकल लेभित र सिब्रन्ड एन्गेल्ब्रेच्टले २/२ विकेट लिए।