
काठमाडौं । पश्चिम एसियाली फुटबल फेडेरेशन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले हात पारेको छ।
बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलको नेपाल र जोर्डनबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि पेनाल्टीबाट जोर्डनले १ गोल गरेको हो ।
खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । २९औं मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
पहिलो हाफमा १-० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ७४औं मिनेटमा जोर्डनकी लाना फेरसले गोल गर्दै खेलमा फर्काएकी थिइन् ।
८९औं मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २-१ को अग्रतामा राखेकी थिइन् । तर, इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई पुनस् २-२ को बराबरीमा फर्काएकी थिइन् ।
प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम ४ मा लेबनानलाई हराएको थियो ।
प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । जोर्डनले हालसम्म पाँचपटक प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाली महिला टिमले खेलेको यो ११औँ फाइनल हो । नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।
नेपालले यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिप, तीन पटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एक पटक हिरो कप र एक पटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो ।