शिवसताक्षी । झापाको शिवसतासी नगरपालिका वडा नं. ७ मा रहेको बालसेवा आधारभूत विद्यालयले आफ्नो स्वर्ण उत्सव तथा अभिभावक दिवस मनाउने भएको छ ।
विद्यालयले पत्रकार सम्मेलन गरी आगामी फागुन २४ गते विद्यालयको ५०औं वर्ष उत्सव तथा अभिभावक दिवस मनाउने जानकारी गराएको हो । वि. सं. २०३० सालमा स्थापना भएको विद्यालयको नाम दिपेन्द्रोदय प्राथमिक विद्यालय थियो ।
विद्यालयले स्वर्ण उत्सव तथा अभिभावक दिवसका अवसरमा अक्षयकोषका दाताहरुलाई सम्मान गर्नेछ भने स्कूल बस खरिद अभियानमा सहयोग गर्ने दातालाई पनि सम्मान गरिने प्रधानाध्यापक दिपेन्द्रप्रसाद कार्कीले जानकारी दिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा रहेकाहरुलाई समेत मरणोपरान्त सम्मान गरिने कार्यक्रम रहेको जनाइएको छ ।
स्वर्ण महोत्सवका अवसरमा विद्यालयको विकासमा अभिभावकहरूको साथ र सहयोग कायम राख्ने वातावरण सिर्जना गर्ने, विद्यालयका संस्थापक र अभिभावकहरूको उच्च सम्मान गरी आर्थिक सहयोग जुटाउन अभिप्रेरित गर्ने, विद्यालयलाई नगरपालिकाको स्मार्ट विद्यालय बनाउने कार्यमा टेवा पुर्याउने, विद्यालयप्रति सरोकारवाला सकारात्मक चिन्तनको विकास गर्ने लगायत उद्देश्य रहेको प्रधानाध्यापक कार्कीले जानकारी दिएका छन् ।