काठमाडौं । रूसी जेलमा मृत्यु भएका एलेक्सी नाभाल्नीको शव अझै दुई हप्तासम्म परिवारलाई नमिल्ने भएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी दलका नेता नाभाल्नीको गत शुक्रबार मृत्यु भएको थियो ।उनको शव ‘रासायनिक विश्लेषण’को लागि अझै केही दिन राखिने जानकारी नाभाल्नीकी आमालाई दिइएको छ । नाभाल्नीको शव कहाँ छ भन्ने थाहा हुन सकेको छैन । नाभाल्नीकी श्रीमतीले उनको शव लुकाएको आरोप लगाएकी छन् ।
सोमबार एक भिडियोमामार्फत एलेक्सीकी पत्नी युलिया नभाल्नायाले रूसको स्वतन्त्रताका लागि आफूले काम जारी राख्ने भनेकी छन् । नाभाल्नी पुटिनको शासनका विरोधी थिए ।
युलियाले रूसी राष्ट्रपति पुटिनलाई आफ्नो पतिको हत्या गरेको आरोप लगाएकी छन् । नोभिचोक एजेन्टले विष प्रयोग गरी आफ्ना पतिको हत्या गरिएको र सोही निशान नहराएसम्म शव राखिएको आरोप युलियाको छ । सन् २०२० मा नोभिचोक प्रयोग गरी हत्या गर्न खोजिएको प्रयासबाट नाभाल्नी बाँचेका थिए ।
हाल साइबेरियन पेनले कोलोनीमा जेल जीवन बिताइरहेका नाभाल्नीको गत शुक्रबार मृत्यु भएको घोषणा गरिएको थियो । पैदलयात्रा गरेपछि ढलेका नाभाल्नी होसमा नआएको त्यहाँका अधिकारीले भनेका थिए ।
उनको मृत्युको खबर सुन्ने बित्तिकै उनकी आमा र वकिल साइबेरियन कोलोनीमा पुगेका थिए । तर, जेलको शवगृह र स्थानीय प्रशासनले उनको शव कहाँ छ भन्ने जानकारी दिएका छैनन् । क्रेमलिनले सोमबार नाभाल्नीको मृत्युबारे अनुसन्धान भइरहेको बताएको छ ।
नाभाल्नीकी प्रवक्ता रहेकी किरा यार्मिशले अनुसन्धानकर्ताले रासायनिक विश्लेषण गर्न दुई हप्तासम्म शव हस्तान्तरण नहुने जानकारी नाभाल्नीकी आमालाई दिइएको बताइन् ।
रूसी विपक्षी दलका प्रभावशाली नेता रहेका नाभाल्नीलाई विभिन्न मुद्दामा १९ वर्षको जेल सजाय सुनाइएको थियो । पश्चिमी नेताहरूले नाभाल्नीको मृत्युको दोष राष्ट्रपति पुटिनलाई लगाएका छन् ।
सोमबार पत्रकारहरूसँग बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युको जिम्मेवार पुटिन भएको टिप्पणी गरे । उनले भने, “आदेश दिएको होस् वा त्यो परिस्थितिमा पु¥याएको होस्, पुटिन जिम्मेवार छन् ।”
युरोपियन युनियन (ईयू)को विदेश नीति प्रमुख जोसेप बोरेलले पुटिनको शासनबाट रूसी जेलमा नाभाल्नी मारिएको भनेका छन् ।
नाभाल्नीको मृत्युपछि ईयू र अमेरिका दुवैले रूसमाथि नयाँ प्रतिबन्ध लगाउन खोज्दैछन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नाभाल्नीको मृत्युबारे पश्चिमी राजनीतिज्ञको टिप्पणी ‘अहंकारी’ र ‘अस्वीकार्य’ भएको बताए ।