बन्दा आचेह । १०० भन्दा बढी रोहिंग्या शरणार्थी बोकेको एउटा डुंगा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको हिस्सा हो ।
अधिकांश मुस्लिम रोहिंग्याले म्यानमारमा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ । प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्रायः कमजोर डुंगामा आफ्नो ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्छन् ।
राष्ट्रसंघीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुंगा अवतरण भएको पुष्टि गरे । उनले शरणार्थीको यकिन संख्या ‘अझै पुष्टि हुन बाँकी रहेको’ तर स्थानीय अधिकारीले १३७ शरणार्थी आएको अनुमान गरेको बताए ।
राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् ।
अति रूढिवादी इन्डोनेसियाली क्षेत्रमा अल्पसंख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुंगालाई समुद्रमा फिर्ता पठाइएको छ । आफैँमा दशकौँको रक्तपातपूर्ण द्वन्द्वको सम्झनामा रहेका धेरै आचेनी आफ्ना मुसलमान साथीहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् ।
यद्यपि, अरूले आफूहरूको धैर्यको परीक्षा भइसकेको बताएका छन् । रोहिंग्याले दुर्लभ स्रोतको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीय बासिन्दासँग झगडा गर्ने उनीहरूले दाबी गरेका छन् ।
डिसेम्बरमा आचेह विश्वविद्यालयमा सयौँ विद्यार्थीले १०० भन्दा बढी रोहिंग्या शरणार्थीका निम्ति अस्थायी आश्रयस्थलमा आक्रमण गरी उनीहरूलाई स्थानान्तरण गर्न बाध्य पारेका थिए ।
इन्डोनेसिया संयुक्त राष्ट्रसंघीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले आफूलाई म्यानमारबाट शरणार्थी लिनका लागि बाध्य बनाउन नसकिने जनाएको छ ।
राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार, तीन हजार ५०० भन्दा धेरै रोहिंग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्राको प्रयास गरेको विश्वास गरिन्छ । खतरनाक सामुद्रिक यात्रा पार गर्ने प्रयास गर्दा सो वर्षको प्रारम्भदेखि करिब एक हजार रोहिंग्या मारिएको वा बेपत्ता भएको अनुमान गरिएको छ ।