बिर्तामोड । झापाको बिर्तामोड ७ मा रहेको कन्चन अंग्रेजी माध्यमिक विद्यालयले एकजना मिर्गौला पीडितका सन्तानलाई निःशुल्क पढाई दिने भएको छ ।
विद्यालयले बिर्तामोड ६ का मिर्गौला पीडित ४३ वर्षीय बुद्धिराज देवानका छोरा ११ वर्षीय आयुष देवानलाई कक्षा १० सम्म निःशुल्क पढाइदिने निर्णय गरेको हो ।
आयुष सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् । आज बुद्धिराजलाई विद्यालयमा बोलाई उनका छोरा आयुषलाई कक्षा १० सम्म निःशुल्क पढाइदिने कुरा जानकारी गराइएको विद्यालयका संस्थापक तथा सहायक प्रधानाध्यापक बद्री बाँस्कोटाले जानकारी दिए ।
अभिभावकको स्वास्थ्य समस्याका कारण आफ्ना विद्यार्थीको पठनपाठन अवरुद्ध नहोस् भनेर विद्यालयले सो सहयोग गरेको बाँस्कोटाले बताए । ताप्लेजुङबाट बसाइँ सरेर आएका बुद्धिराज बिर्तामोड ६ मा भाडाको घरमा बस्छन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहीँ उनको दुईवटै मिर्गौला खराब भएको पत्ता लागेको थियो ।
बिरामी भएर नेपाल फर्केका बुद्धिराजले विगत एक महिनादेखि भद्रपुरको ओमसाई हस्पिटलमा डाइलोसिस गराउँदै आएका छन् । उनकी श्रीमती माया देवान वैदेशिक रोजगारीका लागि इराकमा छन् ।
आर्थिक अवस्था कमजोर भएका बुद्धिराजले आफ्ना छोरालाई विद्यालयले निःशुल्क पढाइदिने निर्णय गरेर सहयोग गरेकोमा धन्यवाद दिए । ग्रामीण क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्ने कञ्चन अंग्रेजी माविले असहाय र दीर्घरोगी भएका अन्य अभिभावकका सन्तानलाई पनि निःशुल्क पठनपाठन गराउँदै आएको छ ।
असहाय र दीर्घरोगी भएका अन्य ६ जना अभिभावकका छोराछोरीलाई आफ्नो विद्यालयले निःशुल्क पढाउँदै आएको विद्यालयका अर्का संस्थापक डिल्लीराज चम्लागाईले बताए । उनका अनुसार त्यसरी निःशुल्क अध्ययन गरेका दुईजना विद्यार्थीहरुले एसईई उत्तीर्ण गरेका छन् भने एकजनाले यसवर्ष एसईई परीक्षा दिँदैछन् ।
२०६४ सालमा स्थापना भएर कक्षा १० सम्म अध्ययन भइरहेको सो विद्यालयमा ५४० जना विद्यार्थी छन् । विद्यालय ग्रामीण क्षेत्रमा रहे पनि भौतिक पूर्वाधारले सम्पन्न ३ वटा भवनमा २७ वटा कोठा रहेका छन् । विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।