२०८१ माघ २६, शनिवार , ०३:५३:०३ बजे

Sajhamanch
'

सहारा नेपालको विश्वास परियोजनाद्वारा २५ पालिका लाभान्वित हुँदै

बिहिवार, पौष १२, २०८०

झापा । पूर्वको चर्चित गैर सरकारी संस्था सहारा नेपालले सञ्चालन गरिरहेको कार्यक्रम विश्वास परियोजनाले पछाडि परेका समुदायको उत्थानका लागि महत्वपूर्ण योगदान पुर्याएको छ ।

संस्थाद्वारा सञ्चालित विश्वास परियोजनाले तीन जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य सुधारका लागि कार्यक्रम सञ्चालन गरी पछाडि परेका समुदायको उत्थानमा योगदान गरिरहेको हो ।

फेयरमेड फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित विश्वास परियोजनाले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी हालसम्म गरेको कामको प्रगति सार्वजनिक पनि गरेको छ । दुई वर्षअघि शुरु भएको परियोजनाले तीन वटा जिल्लाका २५ वटा पालिकामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

चेतनाको कमीले अझै पनि रोगहरु लुकाउने प्रचलन रहिरहेकाले रोगीको संख्या न्यूनीकरण हुन नसकेको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरी बताए । उनले सञ्चारकर्मीले सचेतना अभिबृद्धि गर्ने खालको काम गर्नुपर्नेमा जोडदिए । परियोजनाले सञ्चारकर्मीहरुलाई पनि उक्त परियोजनामा जोडिएर उपेक्षित उष्णप्रदेशीय रोगको उजागर गर्न उनले आग्रह गरे ।

झापाका १० पालिका, मोरङको ७ र सुनसरीका ८ वटा पालिकामा उपेक्षित उष्णप्रदेशीय रोगहरुका विषयमा पछाडि परेका समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दै आएको परियोजनाका संयोजक पवनकुमार राईले जाकारी दिए ।

उपेक्षित उष्णप्रदेशीय रोगहरुमध्ये कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेंगी र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो, फिते जुका र खस्रे रोगको क्षेत्रमा परियोजना केन्द्रित रहेको उनले बताए ।

मुख्य रुपमा झापाको बाह्रदशी, झापा, हल्दिबारी, गौरीगञ्ज, कचनवकल गाउँपालिकाहरु र गौरादह, कनकाई, बिर्तामोड, भद्रपुर एवम् मेचीनगर नगरपालिकालाई केन्द्रित गरेर परियोजनाले काम गरिरहेको जनाइएको छ ।

उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम भएको क्षेत्रमा सचेनामूलक कार्यक्रम, स्थानीय स्वास्थ्य सञ्चालन तथा व्यवस्थापन समितिहरुको क्षमता अभिबृद्धि, विद्यालयहरुमा सचेतना, मातृशिशु स्वास्थ्य सम्बन्धी काम, स्वाथ्यकर्मीलाई तालिम लगायतका काम गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

परियोजनाले झापाका ४२७ जना स्वास्थ्यकर्मीलाई तालिम, ३५४ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम, ८ जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, ७ वटा प्रसूती गृह शुद्धीकरण तथा व्यवस्थापनमा सहयोग, डेंगु नियन्त्रण महत्वपूर्ण भूमिका, ६ जना नर्सिङ कर्मचारीलाई तालिम, २० वटा सामुदायिक विद्यालयमा सरसफाई कर्नर स्थापना, कुष्ठरोगी र हात्तीपाइले प्रभावितहरुलाई सहायक सामग्री र सात जनालाई १२ हजार रुपैयाँका दरले आत्मनिर्भर बन्न बिउ पुँजी प्रदान लगायतको काम गरेको सहारा नेपालका फोकल पर्सन मात्रिका सुवेदीले जानकारी दिए ।

परियोजनाको प्रतिफल देखिन ४-५ वर्ष लाग्ने भएकाले क्रमशः प्रतिफल आइरहेको उनको भनाइ छ । मानिसमा सचेतनाको कमी हुँदा उपेक्षित उष्णप्रदेशीय रोग न्यूनीकरणमा समस्या देखिएको उनले बताए ।

परियोजना सञ्चालनमा आएपछि झापा गाउँपालिकामा स्वास्थ्य संस्थामा प्रसुती गराउने महिलाको संख्या बढेको कार्यक्रम संयोजक राईले बताए । उनका अनुसार गत वर्ष ९ जनाले स्वास्थ्य संस्थामा प्रसुती गराएको चालू आवको चार महिनामा ३४ जनाले प्रसुती सेवा लिएका छन् । सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा अन्तरक्रिया सम्पन्न भएको थियो ।

सम्बन्धित खबर