२०८१ मंसिर १५, शनिवार , ०४:०६:५३ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिकाद्वारा उत्कृष्ट शिक्षक–विद्यार्थी पुरस्कृत

शुक्रवार, मंसिर १५, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो ।

नगरपालिकाले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नगर क्षेत्रका तीनजना शिक्षकलाई पुरस्कार प्रदान गरेको हो । उत्कष्ट शिक्षकको पुरस्कार प्राप्त गर्नेहरुमा मावि तर्फको दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूत तर्फ मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिक तर्फ जनता प्राविका डिल्लीरमण भट्टराई रहेका छन् । उत्कृष्ट शिक्षकहरुलाई नगद ५०/५० हजार रुपैयाँ र सम्मान पत्रसहित पुरस्कृत गरिएको थियो ।

नगरपालिकाले दोस्रोपटक यस प्रकारको पुरस्कार वितरण गरेको छ । नगरपालिकाले उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गरेको थियो । आवेदनका आधारमा नगरले उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गरेको शिक्षा शाखाका अधिकृत केशर खवासले जानकारी दिए ।

सोही कार्यक्रममा नगरस्तरीय कक्षा ८ को परीक्षामा उत्कृष्ट जीपीए ल्याउने दुईजना विद्यार्थीहरुलाई १५/१५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । महेन्द्ररत्न माविकी छात्रा विद्या दाहाल र मोहनमाया माविकी छात्रा एलिना तम्सिनालाई पुरस्कृत गरिएको हो।

सो कार्यक्रममा २०७९ मा शिक्षण पेशाबाट सेवा निवृत्त भएका ११ जना शिक्षकहरुलाई सम्मानपत्रसँगै दोसल्ला ओढाएर मायाको चिनोसहित विदाई गरिएको छ ।

विदाई हुने शिक्षकहरुमा तोयानाथ काफ्ले सरस्वती मावि, कृष्णप्रसाद पाठक दुर्गा मावि, देवीप्रसाद पराजुली दुर्गा मावि, विरेन्द्रप्रसाद बुढाथोकी सहिद लक्ष्मी प्रावि, नरेन्द्रप्रसाद गुरुङ्ग चमरधाप प्रावि, कृष्णप्रसाद रिजाल वीर अमरसिंह मावि, रघुनाथ पौडेल महेन्द्र रत्न मावि, रवीनकुमार शर्मा महेन्द्र रत्न मावि, दिलकुमार मुखिया महेन्द्र रत्न मावि, कृष्ण सुवेदी निराकार शुक्रराज आवि, र प्रेमबहादुर लिम्बू महेन्द्रज्योति मावि रहेका छन् ।

सो कार्यक्रममा स्थानीय तहको पाठ्यक्रम आचरण सचेतना शिक्षा निर्माण समितिका पदाधिकारी युवराज पाण्डे, डम्बरबहादुर बस्नेत, मोहन ओली, युवराज कट्टेल, टंक सेढाई, श्याम दाहाल, लीला भण्डारी, भोजराज दाहाल, उमा भण्डारी, देवेन्द्र हुमागाई, टीका पोख्रेल, तिलचन भण्डारी, दिनेशप्रसाद आचार्य र केशरबहादुर खवासलाई सम्मान गरिएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले पुरस्कृत एवम् सम्मानित हुनेहरुलाई अविर लगाएर सम्मानपत्र एवम् पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खबर