झापा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पत्र पठाएर सहानुभूति प्रकट गरेका छन् ।
राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र राष्ट्रपति पौडेलकी कान्छी छोरी अवज्ञा पौडेलले दाहाल निवासमा पुगेर हस्तान्तरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा भनिएको छ लोकतन्त्रका लागि भएका आन्दोलनमा पटक–पटक सहभागी भएर जेलनेल र यातना भोग्नुभएका पूर्णानन्दजी एक निष्ठावान, सिद्धान्तनिष्ठ र असल नेता हुनुहुन्थ्यो । लोकतन्त्रप्रति समर्पित पूर्णानन्दजीको निधनले लोकतान्त्रिक आन्दोलनलाई अपुरणीय क्षति भएको मैले महशुस गरेको छु ।’
पञ्चायतका कठिन समयमा २०२७ सालमा नेपाल विद्यार्थी संघको पूर्वाञ्चलमा संगठन विस्तारका क्रममा तत्कालीन अवस्थामा दमक हाइस्कूलका प्रधानाध्यापक रहेका पूर्णानन्द शर्माले गरेको सहयोगको राष्ट्रपति पौडेलले स्मरण पनि गरेका छन् ।
झापाको कमल गाउँपालिका वडा नं. ६ का स्थायी बासिन्दा शर्माको सोमबार साँझ उपचारको क्रममा विर्तासिटी अस्पतालमा निधन भएको थियो ।
प्रजातन्त्रका लागि भएको आन्दोलनको क्रममा विभिन्न समयमा पक्राउ परेर उनले ५ वर्षभन्दा बढी जेलजीवन बिताएका थिए । स्वर्गीय शर्माले पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलनका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलनेलको यातना भोग्नुपरेको थियो ।
२०४२ सालमा नेपाली कांग्रेस झापाको सभापति बनेका दाहाल सिके प्रसाई सभापति रहँदा जिल्ला पार्टी सचिवको जिम्मेवारीमा रहेका थिए ।