२०८१ माघ २६, शनिवार , ०१:३३:४३ बजे

Sajhamanch
'

बिर्तामोड नगर अस्पतालमा सेवा थपिँदै, स्वास्थ्य बीमाबाट दीर्घरोगीहरु लाभान्वित

सोमवार, मंसिर ११, २०८०

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा अब स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा पनि थप गरिएको छ । गत मंसीर ५ गतेदेखि स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको मेडिकल सुपरीटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिएका छन् ।

शनिबार बाहेक हरेक दिन दिउँसो १ बजे देखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने मेसु डा. अधिकारीले बताए । स्त्री तथा प्रसुती रोग सम्बन्धीका सबै सेवा विशेषज्ञ डाक्टर शिवेश चौधरीले जाँच गर्ने मेसु अधिकारीले बताए ।

नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिनसमेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा. अधिकारीले जानकारी दिए ।

नगरपालिकाले आवश्यक पूर्वाधार थप गरी क्रमश सेवा विस्तार गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको भनाई छ । अस्पतालमा २४सै घण्टा निःशुल्क नर्मल डेलिभरी सेवा, बालरोग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, स्वास्थ्य विमा सेवा लगायत यसअघि देखि नै सञ्चालनमा रहेको उनले बताए ।

यसैगरी सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव, बच्चाहरुको नियमित खोप लगायतका सेवासमेत नगर अस्पतालमा उपलब्ध छन् ।

नगर अस्पतालमा दैनिक ३५० जनाभन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भइरहेको मेसु डा. अधिकारीको भनाई छ ।

नगरअस्पताल सुविधासम्पन्न हुँदै गएपछि सर्वसाधारणले निजी अस्पतालमा गएर महंगो मुल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्दै गएको नगरपालिकाको दावी छ ।

विशेषगरी दीर्घरोगीहरु मधुमेह, मुटु, थाइराइड लगायतका बिरामीहरु बीमा वापत औषधी सेवन गर्न नगर अस्पतालमा नै जाने गरेको पाइएको छ । सरकारले हरेक परिवारका लागि वार्षिक ३ हजार ५०० मा स्वास्थ्य बीमा गराएको छ । सो वापत एक लाख रुपैयाँको उपचार सुविधा पाइने व्यवस्थाले विशेषगरी नियमित औषधी खानुपर्ने दीर्घरोगीहरु लाभान्वित हुने गरेको पाइन्छ ।