झापा । मुलुकको अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा प्रक्रिया सुरु भएको छ । वार्षिक प्रतिवेदनका मूलभूत विषयमाथि पत्रकार सम्मेलन मार्फत समीक्षा गर्दै एनएमसीले साधारणसभा सुरुवात गरेको हो ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीको अध्यक्षतामा बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदनका मूलभूत विषयमा समीक्षा गरिएको हो । संस्थाले आगामी मंसीर २ गतेदेखि ८ गतेसम्म इकाइगत साधारणसभा गर्ने र मंसीर १६ गते अन्तिम माइन्युट प्रमाणीकरण सभा गर्ने तय गरेको सो अवसरमा जानकारी दिइयो ।
संस्थाका सबै सेयर सदस्यहरुले आ–आफ्नो सेवा केन्द्रमा तोकिएको मितिमा सञ्चालन गरिने उपइकाइगत साधारणसभामा सहभागिता जनाउन पाउने र वार्षिक प्रतिवेदन आफ्नो कारोबार रहेको सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाइएको सो अवसरमा बताइएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले पत्रकार सम्मेलनको सहजीकरण गर्दै संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिएका थिए । २०५० सालमा २५ जना शेयर सदस्यहरुबाट २ लाख ५३ हजार शेयर पूँजी संकलन गरी स्थापना गरिएको संस्थामा हाल एक लाख ५३ हजार ८०३ जना सेयर सदस्य आबद्ध रहेको उनले जानकारी दिए ।
बचत तथा ऋण, सहकारी पसल, डेरी उद्योग, कृषि फर्म र चिया उद्योग गरी पाँच वटा सहकारी व्यवसाय गरिरहेको एनएमसीको कार्यक्षेत्र कोशी प्रदेशका तीनवटा जिल्लाहरु झापा, इलाम र मोरङमा विस्तार गरिएको छ ।
२०७२ सालसम्म बचत तथा ऋणको मात्र कारोबार गर्दै आएको एनएमसीले सो पछि अन्य व्यवसाय पनि थप गरेको छ । हाल एनएमसीले बचत तथा ऋणको कारोबारसँगै डेरी उद्योग, एनएमसी एग्रो फार्म, सहकारी पसल र चिया प्रशोधन उद्योग सञ्चालन गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
वित्तीय कारोबार गर्ने संस्थाका ५८ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको एनएमसीमा गत असार मसान्त सम्ममा एक अर्ब ४० करोड ५ लाख १८ हजार ६०० रुपैयाँ शेयर पुँजी रुपैयाँ रहेको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले जानकारी दिए ।
यस्तै संस्थागत पुँजी ८१ करोड २३ लाख २६ हजार २० रुपैयाँ, ९ अर्ब ३८ करोड ३० लाख २९ हजार ६८५ रुपैयाँ निक्षेप मौज्दात गरी सदस्यहरु माझ १० अर्ब ६३ करोड ३८ लाख २९ हजार ३१८ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष सिवाकोटीले प्रतिवेदन वाचन गर्दै सुनाए । हाल संस्थाका ५ वटै व्यवसायमा गरी कूल एक हजार १४४ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ ।
अध्यक्ष शिवाकोटीका अनुसार संस्थामा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तमा ४४ करोड ७० लाख २८ हजार ८६७ रुपैयाँ बाह्य कर्जा रहेको छ भने समीक्षा वर्षमा भाखा नाघेको कर्जाको प्रतिशत ३ दशमलव ५८ प्रतिशतमा सिमित गर्न सफल भएको जनाइएको छ ।
समीक्षा वर्षमा संस्थाको खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैयाँ रहेको जनाउँदै अध्यक्ष सिवाकोटीले उक्त मुनाफामध्ये शेयर लाभांश कोषमा जम्मा हुन आएको रकम ९ करोड ४० लाख ४५ हजार ४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा आएको ४ करोड ५० लाख ८३ हजार ८९४ रुपैयाँ नियमानुसार सदस्यहरुमाझ वितरण गरिने पनि बताए ।
पत्रकार सम्मेलनमा उठाइएको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष सिवाकोटीले विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनको असर एनएमसीमा समेत देखिएको बताए । ‘३० वर्षदेखि एनएमसीमा रहेर काम गरिरहँदा अहिलेजस्तो आर्थिक मन्दी र अक्करिलो परिस्थति अनुभव थिएन’ अध्यक्ष सिवाकोटीले भने ‘सहकारीमा उत्पन्न समस्याले हामीलाई पनि बाछिटा लागिरहेको छ तर एनएमसीको वित्तीय कारोबार सुरक्षित राखिरहन सफल भएका छौं ।’
संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी सहकारी पसल केही घाटामा गएको भए पनि क्रमशः सुधार देखिँदै गएको र संस्थाका सदस्यले उत्पादन गरेको स्थानीय बस्तुको बजारीकरणका लागि सहकारी पसल अनिवार्य भएको बताए ।
मुलुकको अर्थतन्त्र संकटमा पर्दा जोगाउने भनेको सहकारीले नै हो भन्दै संस्थापक अध्यक्ष उप्रेतीले सहकारीको सिद्धान्तभन्दा बाहिर गएका संस्थाहरु समस्यामा परेको प्रष्ट पारे । उनले सहकारीको मूल्य र मान्यता र सिद्धान्त बमोजिम चलेका सहकारी संस्थाहरुमा ठूलो समस्या नरहेको पनि जानकारी गराए ।
एनएमसी डेरी उद्योगले स्थानीय बासिन्दालाई नकारात्मक असर पारिरहेको तर समस्या समाधान किन नगरिएको भनी सञ्चारकर्मीले तेर्साएको जिज्ञासामा निवर्तमान अध्यक्ष उप्रेतीले भने, ‘समाचारमा भने जत्तिको समस्या चाहिँ होइन तर पनि हामी सो को निराकरणका लागि तयारी गरिरहेका छौं, प्रश्न नउठ्ने गरी समाधान गर्नेछौं ।’
संस्थाले आगामी मंसीर १६ गते बिर्तामोडमा अन्तिम आइन्यूट प्रमाणिकरण सभा गर्ने जनाइएको छ । सहकारी संस्थाको नियमानुसार इकाइगत साधारणसभाबाट प्रतिनिधि छनौट हुने र छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणीकरण गरिने निवर्तमान अध्यक्ष उप्रेतीले बताए ।