![](https://sajhamanch.com/wp-content/uploads/2023/10/petrol-pump-1024x615-1.jpg)
काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ?
यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्यो । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।
तर, काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका हुन् । अनलाइनखबरले काठमाडौं उपत्यका, नवलपरासी, मकवानपुरलगायत जिल्लाका करिब एक दर्जन पेट्रोल पम्पहरूसँग कुरा गर्दा एकैपटक प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको भाउ घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिअनुरूप बिक्री रोकेको बताएका छन् ।
काठमाडौं स्युचाटारका सुदीप श्रेष्ठ टेकुमा रहेको कनक पेट्रोल पम्पमा पेट्रोल हाल्न छिरे र तर पम्पमा पेट्रोल नभएको सूचना टाँसिएको थियो । ‘अन्त त परको कुरा नेपाल आयल निगमको केन्द्रीय कार्यालयको २० मिटर अगाडिको कनक पेट्रोल पम्पले समेत पेट्रोल बिक्री गरेन,’ श्रेष्ठले भने ।
हेटौंडाका टिकाराम लामाले पनि पेट्रोल किन्न नपाएको बताए । तेल भर्न पम्प पुग्दा ताला लागेको भन्दै उनले फेसबुकमा लेखेका छन् ‘सरकारले पेट्रोलको भाउ घटाउने पेट्रोल पम्पवाला पम्प बन्द गर्ने । हामी जनता जताबाट पनि मर्ने,’ लामा लेख्छन् ‘हेटौड़ा सबै प्रेटोल पम्प बन्द छ । अब यसको जिम्मेवारी कसले लिने ? सम्बन्धित निकायको ध्यान कता छ रु कालाबजारी गर्नेलाई कस्ले तह लगाउने ?
भक्तपुरका राहुलविक्रम साहीले पनि सोमबार भक्तपुर क्षेत्रमा पेट्रोल किन्न कठिन भएको बताए । विभिन्न ठाउँहा चहार्दा चहार्दै सूर्य बिनायकमा लामो लाइन लागेर तेल भरेको उनले बताए ।
उता गण्डकी प्रदेशमा पनि यस्तै भएको पाखराका स्थानीय दिपेन्द्र अधिकारीले बताए । बुद्धचोकबाट हेम्जा पुग्दा पनि तेल नपाइएको भन्दै उनले नेपाल आयल निगमसँग आक्रोश पोखे । पूर्वका उदयपुरदेखि पश्चिमको नवलपरासीसम्मका स्थानीयहरूले सोमबार पेट्रोल नपाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
पेट्रोलियम डिलर्स एसोशिएसनका बागमती प्रदेश अध्यक्ष अच्युत खड्काले निगमले अप्रत्यशित रूपमा मूल्य समायोजन गरेर पम्पहरूलाई घाटा लगाएको बताए । त्यही कारण पम्पहरू बन्द भएको विषयलाई खड्काले अस्वीकार गरेनन् । उनले भने, ‘दशैं तिहारमा अब मूल्य घट्दैन भनेर निगमले भनेको थियो,’ उनले थपे ‘तर, हिजो एक्कासी मूल्य घटाइयो । मलाई मात्रै २ लाख ६० हजार रूपैयाँ घाटा लागेको छ ।’ तर, खड्काले आफूहरूले आपूर्ति व्यवस्थामा खलल नपुर्याएको दाबी पनि गरे ।
देशभरका १६ सय पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता लिलेन्द्र प्रधानले पेट्रोलको बिक्री नरोकेको दाबी गरे ।
‘आयल निगमले मूल्य घटाएको विषयलाई लिएर इन्धनको बिक्री रोक्ने भन्ने हुँदैन,’ अध्यक्ष प्रधानले भने,‘दुई दिन सरकारी बिदा भएका कारण सोमबार केही पम्पको तेल सकिएर यस्तो भएको हुनसक्छ ।’
निगम भन्छ: प्रशस्त मात्रामा तेल दिएका छौँ
नेपाल आयल निगमले बजारमा पर्याप्त आपूर्ति रहेको बताएको छ । आयल निगमले तेल वितरण नगरेको र बजारमा अभाव भएको भन्ने कारणबाट उपभोक्ताले तेल नपाउने अवस्था सत्य नभएको दाबी गरेको छ । चाडपर्वलाई लक्षित गरेर बजारमा प्रशस्त मात्रामा पेट्रोल बिक्री गरिरहेकाले अहिले बजारमा अभाव हुनै नसक्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
यो साता आइतबार पनि घटस्थापनाको बिदा परेका कारण शनिबार समेत इन्धन बिक्री गरिएको ठाकुरले बताए । ‘काठमाडौं उपत्यकामा मात्रै शनिबार ७ लाख १३ हजार लिटर पेट्रोल बिक्री गरिएको छ,’ प्रवक्ता ठाकुरले भने, ‘चाडपर्वमा वितरण सहज बनाउन बिहान ८ बजेदेखि नै थानकोट डिपो खोलिएको छ । इन्धन अभाव हुनै सक्दैन ।’ पम्पहरूले इन्धन बिक्री नगरेको सम्बन्धमा आफूहरूलाई औपचारिक जानकारी नभएको पनि उनले बताए ।
इन्धन बिक्री रोक्नु सार्वजनिक अपराध
अत्यवश्यक सेवा ऐनलाई टेकेर सरकारले २५ प्रकार सेवालाई बन्द हड्ताल र आपूर्ति व्यवस्थामा आवरोध पुर्याउन रोक लगाएको छ । जसअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था पनि छ ।
ऐनअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था अवरोध गर्नु सार्वजनिक अपराध हो । त्यसो त नेपाल आयल निगमको बिक्रेता विनियमावलीले पनि इन्धनको आपूर्पि व्यवस्थामा अवरोध पुर्याउन नपाइने व्यवस्था गरेको छ । आपूर्तिमा अवरोध गरे निगमले जरिवानादेखि बिक्रेता अनुमति खारेज गर्न सक्नेसम्मको व्यवस्था विनियमावलीमा गरिएको छ ।
तर, सोमबारको अवरोधबारे थप जानकारी आई नसकेको हुनाले कारबाहीबारे अहिल्यै बोल्न हतार हुने निगमका अधिकारीहरू बताउँछन् । तर, उपभोक्ता अधिकर क्षेत्रमा काम गर्ने अधिकारीहरू भने इन्धनको कृत्रिम अभाव सृजना गरिनु दुखद् भएको बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले जुनसुकै बहानामा इन्धनको बिक्री प्रभावित हुन दिन नहुने बताउँछन् । यस्तो कार्यमा संलग्नलाई छानबिनको दायरामा ल्याउन पनि उनले निगम र सरकारसँग माग गरे ।