कमल । झापाको कमल गाउँपालिका वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीवार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
‘खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार’ भन्ने मूल नारा लिएको कमल गाउँपालिकाले वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिहं राई र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले वडाध्यक्ष लालबहादुर विष्टलाई बालमैत्री वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरी बालमैत्री वडा भएको घोषणा गरेका थिए ।
वडालाई बालमैत्री घोषणा गर्नका लागि सहयोग गर्ने वडावासी तथा संघ–संस्था, विध्यालय, टोल विकास संस्थाहरुलाई गाउँपालिकाका अध्यक्ष राईले धन्यवाद दिएका थिए ।
अघिल्लो कार्यकालबाटै जनप्रतिनिधिले सुरु गरेको बालमैत्री वडा घोषणाले यतिबेला मूर्तरुप पाएको हो । विभिन्न कारणले रोकिएको कामलाई पूरा गरी आज हामीले वडालाई बालमैत्री बनाउन सफल भएका छौ । यो कार्यका लागि स्थानीय बासिन्दाहरूको साथ र सहयोगले मात्र सम्भव भएको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताइन् ।
बालमैत्री वडा घोषणा गर्न दुई वर्ष अगाडि नै प्रतिवद्धता जनाएका थियौं, तर विषम परिस्थितिका कारण सम्भव भएन । तर तपाइँहरुको साथ र सहयोगले आज उक्त कार्य सफल भएको भन्दै वडाध्यक्ष नरेन्द्र भट्टराईले वडाबासीलाई आभार प्रकट गरे ।
अब यस वडाभित्रका कोही पनि बालबालिकाले आफ्नो जन्मसिद्ध बालअधिकारबाट बञ्चित हुनुनपर्ने र सबै बालबालिकालाई शतप्रतिशत बालमैत्री वातावरणमा हुर्कने अवसर प्रदान गरिने वडाध्यक्ष भट्टराईले बताए ।
मुलुक सङ्घीय संरचनामा गएपछि साविक लखनपुर र तोपगाछी गाविस मिलाएर निर्माण गरिएको कमल गाउँपालिका ६ नं. वडा ९ दशमलव ६९ वर्ग किमि क्षेत्रमा फैलिएको छ ।
सो वडामा १ हजार ८६९ घरधुरीमा ८ हजार ४९३ जनसंख्या रहेको छ । कूल जनसंख्यामा १ हजार १८० जना बालिका र १ हजार ३२६ जना बालक गरी २ हजार ५०६ जना बालबालिकाहरूको बसोबास छ । वडाको कूल जनसंख्या मध्ये २९ दशमलव ५ प्रतिशत बालबालिकाको रहेको जनाइएको छ ।