बिर्तामोड । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने जिल्लास्तरीय प्रतियोगिताका लागि सम्पूर्ण काम सकिएको आयोजक एकता स्पोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिएका हुन् ।
मैदान व्यवस्थापन, स्वागतद्वार निर्माणको काम सम्पन्न भएको छ भने मञ्च निर्माणको तयारी गरिएको उनले जनाएका छन् ।
प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजक एकता स्पोर्टिङ क्लबका पदाधिकारी सदस्यहरू जिम्मेवारी अनुसारको कामलाई रचनात्मक सम्पादन कार्यमा लागिरहेको प्राविधिक समितिका संयोजक माधव खरेलले बताए ।
प्रतियोगितामा झापाका ८ वटा क्लबहरूले सहभागिता जनाउने छन् । झापा ११, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिने पौडेलले बताए ।
प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद १ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार रुपैयाँ प्रदान गरिने खरेलले जानकारी दिए ।
२०७४ सालमा स्थापना भएको एकता स्पोर्टिङ क्लबले गुणात्मक र संख्यात्मक दृष्टिले युवा राष्ट्रको मेरुदण्ड भएकाले उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने उद्देश्यले वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दक्ष प्रशिक्षकको व्यवस्था गरी १६ वर्षमुनिका १०० भन्दा बढी बालबालिकालाई फुटबल प्रशिक्षण प्रदान गर्दै आएको छ ।
अन्डर १२ फुटबल प्रशिक्षण गर्ने, योग्य खेलाडी उत्पादन गर्ने, युवाहरूलाई फुटबलप्रति उत्प्रेरित गर्ने उद्देश्य रहेको क्लबका सदस्य रमेश उप्रेतीले बताए ।