२०८१ पौष ८, सोमवार , ०५:३५:५६ बजे

Sajhamanch
'

दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ आइतबारदेखि खुल्ने

शनिवार, असोज २०, २०८०

पोखरा । दशैंमा घर फर्किनेलाई लक्षित गर्दै पोखरामा भोलिदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडले दशैंका लागि अग्रिम टिकट बुकिङ आईतबारदेखि खुल्ने जानकारी दिएको हो।

यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा बृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको थियो। पोखरा–मुग्लिन सडक खण्ड, नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतीको काम भइरहेकाले सडक जिर्ण भएको, जिर्ण बाटोमा बस चलाउँदा सवारी साधनको पार्टपुर्जा, ईञ्जिन, गियर बक्सहरु खराब भई पटकपटक मर्मतसम्भार गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि, पार्टपुर्जामा भएको बृद्धि, मूल्य बृद्धि लगायतको अनुपातमा यातायात भाडा न्यून भएकाले भाडा समायोजन गर्नुपर्ने अडानमा कम्पनी थियो।तर दशैं मुखैमा आएपछि यात्रुहरुको आवश्कता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीद्वारा शनिबार जारी विज्ञप्तीमा जनाइएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चाडपर्वका बखत यात्रुहरुको आवश्यकता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै गैह्रजिम्मेवार र उदासीन बन्न हाम्रो नैतिकताले नदिने हुँदा घाटा सहेर भएपनि अग्रिम टिकट बुकिङ खोल्ने निर्णयमा पुगेका छौं।’

कम्पनीले दशैंका लागि अग्रिम टिकट बुकिङ पोखरा–८ फिर्के र कम्पनीका अन्य सेवा प्रदायक कार्यालय अन्तर्गतका काउण्टरहरुबाट उपलब्ध हुने जनाएको छ।कम्पनीले दशैंका लागि गाडी थप्ने योजना रहेकोपनि जनाएको छ। तर यात्रुको आवश्यक्ता हेरेर गाडी थपिने अध्यक्ष केसीले जानकारी दिए। यसपाली गाडीको समस्या हुँदैन,’ उनले भने,‘आवश्यक्ता अनुसार गाडी थप्छौं। गाडी नपाएर यात्रु रोकिने स्थिति आउन दिदैनौं।’

सम्बन्धित खबर