२०८१ मंसिर १४, शुक्रवार , ०२:३१:३२ बजे

Sajhamanch
'

बिर्तामोडका २० युवालाई आजदेखि डकर्मी तालिम

बिहिवार, असोज ४, २०८०

झापा । बिर्तामोडमा सुरक्षित भवन निर्माणको लागि डकर्मी सीप अभिवृद्धि तालिम सुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को प्रदेश सहयोग कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिमको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले स्वदेश तथा विदेशका लागि सीप अपरिहार्य रहेको बताइन् । कामको महत्व नबुझेर देश पछि परेको गुनासो गर्दै उनले महत्व दिएर सिक्न सहभागी सबैलाई आग्रह पनि गरेकी थिइन् ।

तालिम उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले घर निर्माणमा काम गर्ने कामदारहरु तालिम प्राप्त हुनु पर्ने धारणा राखेका थिए । सीप सिकेपछि जिम्मेवारी लिएका विषयमा समेत सुक्ष्म तरिकाले हेर्न उनले आग्रह गरेका छन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले सहभागीहरुलाई समयलाई ख्याल गर्दै अनुशासनमा बसेर तालिम लिन आग्रह गरे ।

तालिममा विशेषगरी भवन आचारसंहिताको विषयमा प्रशिक्षण प्रदान गरिनेछ। ईन्क्लुसिभ कन्ट्रक्सन र ट्र्यास जेभीले वडा नम्बर १ को सभाहलमा तालिम सञ्चालन गर्ने कार्यक्रम संयोजक तथा प्रशिक्षक बालकृष्ण श्रेष्ठले बताए । आजदेखि ६ दिनसम्म सन्चालन हुने तालिममा नगरका २० जनाले सहभागिता जनाएका छन् ।

सम्बन्धित खबर