२०८१ मंसिर १४, शुक्रवार , १०:३०:३४ बजे

Sajhamanch
'

दमक नगरपालिकाद्वारा सेवा निवृत्त शिक्षक र उत्कृष्ट विद्यार्थी सम्मानित

बिहिवार, असोज ४, २०८०

दमक । दमक नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरभित्रका समुदायिक विद्यालयबाट सेवा निवृत्त ७ जना शिक्षक र गतवर्ष एसईईमा नगर भित्रका विद्यालयबाट उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा शिक्षक र विद्यार्थीहरु सम्मानित गरिएको हो । समितिका संयोजक तथा दमक वडा नम्बर ९ का वडाअध्यक्ष कुवेरप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राम थापाले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई हौसलास्वरुप सम्मान गरिएको बताए । त्यसैगरी सेवा निवृत्त शिक्षकले लामो समय सेवा गरेकोमा नगरपालिकाको तर्फबाट सम्मान गरिएको उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराईले विद्यालय शिक्षा सक्ने बित्तिकै अहिले विदेश जानेक्रम चलेको भन्दै यसलाई रोक्नुपर्ने आवश्यकता औंल्याइन् । उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै उनले विदेश जाने सोच त्यागेर मुलुक बनाउने जिम्मेवार नागरिक बन्न आग्रह गरिन् ।

सेवा निवृत्त शिक्षकहरु पाणिनी माविबाट दुर्गा काफ्ले, चुलाचुली माविबाट होमनाथ ढकाल, ढुकुरपानी माविबाट नेत्रप्रसाद अधिकारी र हेमराज खड्का, पृथ्वी माविबाट डम्बरकुमार राई, सिंहदेवी माविबाट सरस्वतीप्रसाद उपाध्याय र पशुपति संस्कृत माविबाट देवीकुमार रिजाललाई प्रशंसा पत्र र दोसल्ला ओढाएर कदर गरिएको थियो ।

त्यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु एभरेष्ट बोर्डिङ स्कूलबाट विवेक थापा, हिमालय माविबाट स्वस्तिका श्रेष्ठ र आदित्य वस्ती तथा ग्लोबल बोर्डिङ स्कूलबाट सृजना श्रेष्ठ पुरस्कृत भए ।

यस्तै फरक क्षमता भएका उत्कृष्ट विद्यार्थीहरु सरस्वती माविबाट निर्मला कार्की र ग्लोबल बोर्डिङ स्कूलबाट भाष्करदेव राईलाई नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदा नगरिएको थियो ।

सम्बन्धित खबर