![](https://sajhamanch.com/wp-content/uploads/2023/09/Subas-Nemwang-body.jpg)
ललितपुर । संविधान सभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई आज राति नेकपा एमालेको केन्द्रीय कार्यालयमा नै राखिने भएको छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको आज बिहानका राति निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोदेखि एमाले मुख्यालय च्यासलमा राखिएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार उनको पार्थिव शरीरलाई आजराति पार्टी कार्यालयमा नै राखिनेछ । त्यहाँ पार्टीका नेता, कार्यकर्ता र सुरक्षाकर्मी रहनेछन् ।
मंगलबार विहान ९ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि पुनः समय तोकिएको छ । त्यसपछि नेम्वाङको पार्थिव शरीरलाई उनको बालुवाटारस्थित निवासमा लगिनेछ । पार्टी केन्द्रीय कार्यालयले प्रकाशन गरेको सूचनामा भनिएको छः
नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण आज (२०८० भदौ २६ गते) अपरान्ह ५ बजेसम्म जारी रहनेछ । साथै, भोलि बिहान ९ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको सूचित गरिन्छ ।
– केन्द्रीय कार्यालय, नेकपा (एमाले)
अष्ट्रेलियामा रहेका उनका कान्छा छोरा सुहाङ आज राति काठमाडौं आइपुग्दैछन् । जेठा छोरा परिवारसहित बेलायतमा रहेकाले उनी भोलि बुधबार मात्र काठमाडौं आइपुग्ने भएकाले पर्सि बिहीबार मात्र नेम्वाङको अन्त्येष्टि गर्ने तयारी छ ।
आजै सरकारले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।