२०८१ मंसिर १४, शुक्रवार , ०१:०५:०९ बजे

Sajhamanch
'

मेची बहुउद्देश्यीय सहकारी संस्थाको बिर्तामोड इकाई साधारणसभा सम्पन्न

शुक्रवार, भदौ १, २०८०

बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रही इलाम र मोरङमा पनि सेवा विस्तार गरेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको १५ दिवसीय २९औं साधारणसभा जारी छ ।

साउन २८ गते दमक सेवा केन्द्रका सदस्यहरुमाझ साधारणसभाका एजेण्डाहरु माथि छलफल गरी सुरु भएको कार्यक्रम अन्तरगत साउन ३२ गते बिहीबार बिर्तामोड क्षेत्रका सदस्यहरुको सहभागितामा सेवाकेन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको हो ।

बिर्तामोड सेवा केन्द्र कार्यालयका संयोजक उत्तम खनालको अध्यक्षतामा आयोजित सो इकाई साधारणसभामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा मन्तब्य राख्दै उनले सहकारीमा आवद्ध भए पछि त्यसका सदस्यहरुले सोही संस्थाको नीति र विधिमा रहनु पर्ने सुझाइन् । सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्नेहरुका कुरा नसुन्न आग्रह गर्दै उनले सञ्चालक, कर्मचारी र सदस्यहरुले वित्तीय अनुशासनको पालना गरेमा मात्र संस्था उँभो लाग्ने पनि बताइन् ।

सहकारी संस्थाहरुले रोजगारीको सिर्जना गरेकै कारण हजारौं नेपाली नागरिकले श्रम बेच्न विदेशिनु नपरेको नगरप्रमुख प्रसाईंको बुझाई थियो । स्वदेशमा रोजगारी नपाउँदा हामीले भोगिरहेका पीडा र विदेशिएका नेपालीले पनि घर परिवारबाट पाएको प्रताडना सम्झिँदा सहकारीहरु हाम्रा लागि वरदानजस्तै बनेका उनको भनाई थियो ।

सेवाकेन्द्र सञ्चालक समितिका सदस्य कमला आचार्यको शाब्दिक स्वागतबाट सुरु भएको साधारणसभामा बिर्तामोड सेवा केन्द्र प्रमुख दुर्गा खनालले बिर्तामोड कार्यालयले आर्जन गरेको गत आर्थिक वर्षको वित्तीय उपलब्धिहरुको अवस्था बारे प्रकाश पारेकी थिइन् ।

सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाको वित्तीय आँकडा प्रस्तुत गर्दै यो समीक्षा वर्षमा संस्थाले १० करोड नाफा कमाउन सफल भएको जानकारी दिइ । चालू वर्ष १६ करोड भन्दा बढी नाफा आर्जन गर्ने लक्ष्य राखेको उनले बताए ।

आर्थिक वर्ष २०७९/०८० मा विभिन्न शीर्षकमा राज्यलाई २ करोड रुपैयाँभन्दा बढी कर राजश्व तिरेको र यो हिस्सा सहकारी अभियानमा नै ठूलो अंक रहेको सिइओ बगालेले दावी पनि गरेका छन् ।

बिर्तामोड सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य गणेश पोखरेलले सञ्चालन गरेको इकाईगत साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक हरिप्रसाद चापागाईंले आफ्नो विभागीय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंकका बिर्तामोड शाखा प्रमुख विवेक डाँगीले आ–आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा बिर्तामोड सेवा केन्द्र मातहतका उत्कृष्ट बचतकर्ताहरुलाई प्रशंसापत्र र मायाको चिह्नो प्रदान गरेर वित्तीय कारोबारमा थप उत्प्रेरणा प्रदान गरिएको थियो ।

सम्बन्धित खबर